काठमाडौँ, आज फाल्गुन २६ गते आईतबार, राष्ट्रपति विद्या देवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६३औँ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गर्दै छिन् । सम्पूर्ण कार्यक्रम सकाएर चैत्र १ गते शुक्रबार उनि स्वदेश फर्कने छिन् ।
परराष्ट्र मन्त्रालयको अनुसार, राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले यही फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै राष्ट्रपतिले नारी नेत्रीले विश्वलाई कसरी रुपान्तरण गर्छन् भन्ने विषयमा मन्तव्य राख्ने तय भएको छ ।
उक्त कार्यक्रममा राष्ट्रपतिको साथ साथै बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा, राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वरिष्ठ अधिकारी पनि भाग लिँदै छन् ।
यस भ्रमणमा राष्ट्रपति भण्डारीको केहि उच्चस्तरिय भेटवार्ता समेत समावेस गरिएकोछ। परराष्ट्र मन्त्रालयको अनुसार, उच्चस्तरीय भेटवार्ता मध्य राष्ट्रसंघका महासचिव एण्टोनियो गुट्रेस र अध्यक्ष ग्रेसेससँगको भेटवार्ताको समय टुंगिसकेको छ ।भ्रमणको समयमा राष्ट्रपति भण्डारीले इष्टोनियाका राष्ट्रपति केर्स्टी कालजुलेड तथा क्रोएशियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसँग पनि द्विपक्षीय वार्ता गर्नेछिन् र सोहि दिन आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनले उनीसंग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपतिको कार्यक्रम तालिकामा संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको भ्रमण पनि समावेश गरिएको छ ।