गान्धीनगर (गुजरात) । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् ।मोदीकी माता हीराबेन मोदीको आज १०० औँ जन्मदिन हो । मोदीले आफ्नी आमालाई शनिबार बिहान यहाँस्थित निवासमा भेटेर आशीर्वाद लिएका हुन् । ‘ आमाबाट आशीर्वाद लिएँ,’ उनले आज बिहानै ट्विट गर्दै भनेका छन् ।
तीन महिनाअघि उनले आफ्नी आमालाई भेटेका थिए । हीराबेन मोदीको जन्म शतवार्षिकीका अवसरमा आजै गान्धीनगरको एउटा सडकलाई अब हीराबेन मोदी मार्ग नामकरण गरिने नगरप्रमुख हितेश मवानले बताएका छन् ।
हीराबेन मोदीबाट भावी पुस्ताले त्याग, तपस्या, सदाचार र सेवाको पाठ सिकुन् भन्ने उद्देश्यले सडकको नाम हीराबेन मोदी राखिएको जनाउँदै गान्धीनगर नगरका प्रमुखले प्रधानमन्त्रीकी माताको नाम जीवित राख्न पनि त्यसो गरिएको स्पष्ट गरे ।