मेयर हर्क साम्पाङको आदेशमा रोकियो प्रहरी कार्यालय भवन निर्माण

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले धरान–१६ मा निर्माणाधीन प्रहरी चौकीको काम रोक्न कोशी प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालयलाई पत्र लेखेका छन्।

बहुभाषिक पाठशालाको छेउमा निर्माण भइरहेको प्रहरी चौकीको काम तत्काल रोक्न आदेश दिँदै मेयर साम्पाङले परियोजनाको डिजाइन र स्थान छनोट नगरपालिकासँग समन्वयविनै अघि बढाइएको भन्दै आपत्ति जनाएका हुन्।

साम्पाङले लेखेको पत्रमा चौकीको डिटेल प्रोजेक्ट रिपोर्ट (DPR) नहेरी, डिजाइनबारे नगरपालिकासँग पर्याप्त छलफल नगरी र स्थानको उपयुक्तता नजाची निर्माण कार्य अघि नबढाउन अनुरोध गरिएको छ।

पत्रमा बहुभाषिक पाठशालाको कम्पाउन्डभित्र प्रहरी चौकी निर्माण गर्नुले शैक्षिक वातावरणमा असर पार्ने र पाठशालाको उद्देश्यमा प्रतिकूल प्रभाव पर्ने उल्लेख गरिएको छ।

यसबीच, चौकी निर्माणको ठेक्का पाएका व्यवसायी योगेश खतिवडाले मेयरको आदेशपछि निर्माण कार्य रोकिएको पुष्टि गरेका छन्।

धरानमा पछिल्लो समय विभिन्न वडामा प्रहरी भवन निर्माण भइरहेका छन्। तर, स्थान चयन र स्थानीय सरोकारवालासँग समन्वयबिनाका परियोजनाले विवाद निम्त्याउने अवस्था देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया