काठमाडौँ, बिहीबार क्वालालुम्पुरस्थित नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनबीच भएको भेटवार्तामा मन्त्री सेगरनले स्वास्थ्य परीक्षणको गाँठो एक हप्ताभित्र फुकाउने आश्वासन दिएका छन् ।
सोही भेटमा मलेसियाले नेपालबाट घरेलु कामदारको माग समेत राखेको छ । मुख्यत हालको लागी महिलाहरुलाई लिने गरी मलेसियाले घरेलु कामदारको माग गरेको राजदूत पाण्डेले बताएका छन् ।
जवाफमा उनले नेपालले घरेलु कामदारको सेवा, शर्त तथा सुविधासम्बन्धी नेपालले लिएको नीतिबारे जानकारी गराएका थिए । मलेसियाले पनि घरेलु कामदार लिनेसम्बन्धी आफ्नो कानुनबारे नेपाललाई जानकारी गराउँदै दुई पक्षीय छलफल गरी घरेलु कामदार लिने प्रस्ताव राखेको उनले बताएका छन् ।
हाल मलेसियाले फिलिपिन्स र इण्डोनेसियाबाट घरेलु कामदार लिँदै आएको छ ।