काठमाडौँ, मधेशको राजनीतिक स्थिति पेचिलो भइरहँदा पूर्वराजा ज्ञानेन्द्र शाह मधेशको भ्रमणमा निस्किने भएका छन् ।हाल मधेशको राजनैतिक स्थिति निकै उराठलाग्दो स्थानमा पुगेको छ । साच्चै भन्ने हो भने हाल मधेशको राजनितिलाई कस्ने कोहि बलियो राजनीतिज्ञको खाँचो छ ।
रेशम चौधरीलाई जन्मकैद, राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता, सिके राउतको रिहा र त्यसपछि ११ बुँदे सहमति लगायतको राजनीतिक गोलचक्करमा मधेशको राजनीति अल्मल्लिएको छ र यहि बेला शाह मधेशको भ्रमणमा निस्किनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
ज्ञानेन्द्र शाहको मधेश भ्रमण हाललाई पाँचदिनका लागि तय भएको छ । ज्ञानेन्द्रको सचिवालय श्रोतका अनुसार उनले फागुन २९ गतेदेखि चैत्र ३ गते सम्म मधेस भ्रमण गर्ने छन् । २९ गते जनकपुरमा बास बसेर उनी फागुन ३० गते सर्लाहीको मलङ्गवा स्थित दुर्गा मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।
त्यहाँबाट उनी जनकपुर नै फर्किने छन् । यस्तै चैत १ गते उनको जानकी मन्दिरमा पूजापाठ गरि चैत २ गते उदयपुरको गाइघाट जाने कार्यक्रम रहेको छ । गाइघाटमा राधाकृष्ण मन्दिरमा पुजापाठ गरेर ३ गते सप्तरीको सखडा भगवतीको दर्शन गरी उनी झापा जाने कार्यक्रम रहेको बुझिएको छ ।
शाहको मधेश भ्रमण धार्मिक भनिएपनि उनले त्यहाँको जनमत समेत बुझ्ने बताइएको छ । अनपेक्षित रुपमा राजनीतिक अवस्था परिवर्तन भइरहेको बेला त्यसप्रति उनले मधेशी जनताको धारणा बुझ्ने मनसाय राख्नुलाई महत्वका साथ हेरिएको छ । यति मात्र नभएर मधेशमा उनको विभिन्न व्यक्तिसंगको भेटघाट कार्यक्रम पनि रहेको छ ।
उनो यस्तो कार्यक्रम बने लगत्तै पूर्वगृह राज्यमन्त्री सोनेलाल यादव उनको सर्लाहीमा स्वागतका लागि विशेष व्यवस्थाको तयारी गर्दै छन् ।शाहको स्वागतको तयारीमा लागेका सोनेलाल भन्छन्,’उहाँको स्वागतको तयारी भइरहेको छ । यहाँ पुजापाठ गर्नुको साथै विभिन्न राजनीतिक दलका नेता तथा समाजसेवीसँग भेट्ने कार्यक्रम समेत रहेको छ । त्यसको तयारी तथा प्रचार प्रसार भइरहेको छ ।’
यहाँ बाट पुष्टि हुन्छ कि उनको जनकपुरमा पनि विभिन्न राजनीतिक दलका नेता तथा व्यक्तित्वहरुलाई भेट्न आन्तरिक रुपमा तयारी भइरहेको छ । पूर्वराजदूत एवं राजनीतिक विश्लेषक विजयकान्त कर्णले मधेस अझैपनि राजनीतिको केन्द्रमा रहेको भन्दै यसबारे पूर्वराजा पनि जानकार रहेको धारणा राखे ।
उनि भन्छन्, ‘मधेश अझै राजनीतिक सेन्टर प्वाइन्टमा रहेको छ । सबैको ध्यान मधेशतिर रहेको छ । संघीयता र गणतन्त्रलाई मधेशले थेगेको कुरा केपी शर्मा अोली र प्रचण्डले बुझे जस्तै ज्ञानेन्द्रले पनि राम्रोसँग बुझ्नु भएको छ । त्यही भएर उहाँ पटक पटक मधेश गइरहनु हुन्छ ।’ ज्ञानेन्द्रले धार्मिक भ्रमणको नाममा मधेशमा सक्रियता बढाउन खोजेको कर्णको विश्लेषण छ ।