भारत अघिअघि चीन पछिपछि

फाइल फोटो

एजेन्सी, ७ मंसिर ।  सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चरम उत्कर्षमा पुगेका बेला दुई छिमेकी मुलुक भारत र चीन सरकारका उच्चस्तरीय टोलीको नेपाल भ्रमण हुने भएको छ ।

भारतीय विदेश सचिव हर्षवद्र्धन शृंग्ला र चिनियाँ रक्षा मन्त्री तथा स्टेट काउन्सिलर वेई फेङ्हेको भ्रमणको मिति तय भइसकेको छ भने भारतीय विदेश मन्त्री जय शंकर र चिनियाँ विदेश मन्त्री वाङ यीले पनि अर्को महिना नेपाल भ्रमण गर्ने भएका छन् । तर उनीहरुको भ्रमणको मिति भने तय भइसकेको छैन ।

भारतीय विदेश सचिव शृंग्ला मंसिर ११ गते दुई दिने भ्रमणका लागि नेपाल आउनुहुने भएका छन् भने चिनियाँ रक्षा मन्त्री वेई भने मंसिर १४ गते नेपाल आउनुहुने भएको छ ।

नेपाल आउन लागेका चिनियाँ नेता उच्चस्तरीय नेता भएकाले नेपालको आन्तरिक राजनीतिमा समेत छलफल हुने बताइएको छ । प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा वेई नेपाल आउन लाग्नुभएको हो ।

चीनका वरिष्ठ सरकारी अधिकारीले नेपाल भ्रमण गराउने भएपछि भारतले पनि रक्षा मन्त्री राजनाथ सिंहलाई नेपाल पठाउने तयारी गरेको बताइएको छ ।

नेपाल र चीनबीच दौत्य सम्बन्ध कायम भएको ६५ वर्ष पुगेको उपलक्ष्यमा आयोजना हुने कार्यक्रममा समेत रक्षा मन्त्री वेईको सहभागिता रहने भएको छ । नेपालको विकासमा एक साझेदार रहेको चीनले सोही कार्यक्रममार्फत नेपाललाई गर्ने सहयोगको समेत घोषणा गर्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए । आजको नेपाल समाचारपत्रमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया