काठमाडौँ, भारतीय एसएसबी ( सीमा सुरक्षा बल ) ले पश्चिम नवलपरासीस्थित सीमा क्षेत्रको दशगजा क्षेत्र आक्रमण गरि अस्थायी पोस्ट निर्माण गरेको पाइएको छ ।
एसएसबीले नियमित ड्युटी गर्ने भूभाग पनि नेपालतर्फ नै रहेको छ । त्यस माथी उनले स्ता गाउँपालिका–५ बलिनगर सीमामा पर्ने दशगजा क्षेत्रको बीच भागमा पर्ने गरी पोस्ट निर्माण गरेका छन् ।
नेपाली भूभाग मै कच्ची टहरो निर्माण गरेर बसेका उनि सधैँ जसो हतियार सहित आएर चेकजाँच गर्ने गर्दछन् । मंगलबार सिमा क्षेत्र निरिक्षणको लागी प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने सहित सशस्त्र प्रहरी उपरीक्षक गहार्धन राई र जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टको टोली त्यहाँ पुगेको थियो ।
उक्त टोलीले निरिक्षणको क्रममा दशगजा क्षेत्र अतिक्रमण गरेर अस्थायी पोस्ट निर्माण गरेको पाएको हो ।भारतीय एसएसबीले दशगजा क्षेत्र मिचेर अस्थायी पोस्ट निर्माण गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी लामिछानेले भने, ‘ अन्तर्राष्ट्रि सीमाको बीच भागमा पर्ने गरी पोस्ट निर्माण गरेको पाइयोे । त्यति मात्र होइन उनीहरुले नियमित चेकजाँच पनि नेपाली भूभागमै बसेर गर्ने गरेका रहेछन् । ‘
प्रजिअ लामिछानेले भारतीय डिएम (प्रमुख जिल्ला अधिकारी) सँग बैठक बसेर निर्माण गरेको पोस्ट र नेपाली भूभागमा बसेर गरिएको ड्युटी तत्काल हटाउन पहल गर्ने बताएका छन् ।
उनि भन्छन्, ‘ पहिला भारतीय समकक्षीसँग बसेर स्थानीय स्तरबाटै पोस्ट हटाउन पहल गर्छौँ, नमाने सम्बन्धित निकायमा पत्राचार गर्छौँ । ‘ उक्त सिमा क्षेत्रमा सस्त्र प्रहरीको भन्दा एसएसबीका पोस्ट धेरै रहेको पाइएको छ ।
सीमा क्षेत्रमा एसएसबीको २५ देखि ३० स्थानमा अस्थायी पोस्ट छन् । सशस्त्र प्रहरीमा जनशक्ति अभाव कै कारण भारतीयले पटक पटक दशगजा र सीमा क्षेत्र अतिक्रमण गर्दै आइरहेको छ ।