काठमाडौँ, सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राष्ट्रिय जनता पार्टी, नेपालका नेता महन्थ ठाकुरले सरकारको नीति तथा कार्यक्रममा केहि नयाँपन नभएको दाबी गरेका छन् ।
उनले प्रणाली परिवर्तन भएपनि सरकारको नीति तथा कार्यक्रम परम्परागत शैलीमा प्रस्तुत गरिएको बताउँदै असन्तुष्टि जनाएका छन् । साथै उनले मधेशका नागरिकलाई अझै पनि विदेशी नागरिक ठान्ने गरिएकोमा आपत्ति जनाउँदै भारतीयहरुले नागरिकता लिएको भए दिने गृह मन्त्रालय पनि भारतीय हो ? भनि प्रश्न उठाएका छन् ।
मधेशमा जन्मिएकै कारण आफूहरु राज्यको विभेदको शिकार हुनुपरेको गुनासो गर्दै उनले भने, ‘ आफ्नै घरमा, आफ्नै खेतबारीमा बसेका मधेशका जनताले विदेशी भनेको पीडा भोगिरहनु परेको छ’, नेता ठाकुरले थप्नुभयो, ‘मधेशको भाषा, मधेशको संस्कृतिमाथि विभेद गरेर कसरी नेपाल बहुभाषिक, बहुसांस्कृतिक देश भयो ? ‘
उनले संघीयता कागज र नक्सामा मात्रै सीमित बनाउने काम भैरहेको र राज्य झनै निरंकुश भन्दै गएको अनुभूति भैरहेको पनि बताएका छन् । उनि भन्छन्, ‘ सारा अधिकारहरु प्रधानमन्त्री कार्यालयमा केन्द्रित भैरहेको छ । यस्तो अवस्थामा निरंकुशताबाट राज्य र जनता मुक्त छ भन्न मिल्दैन । ‘