काठमाडौँ, नेपालमा पानीजहाज ल्याइने कुरा र यसको कार्यालय संचालनको कुरा त हामी सबैलाई अवगत नै छ । तर पानीजहाज संचालनको लागी स्थलगत सम्भाव्यता अध्ययनले नेपालभित्रै तत्काल पानीजहाज आउन कठिन देखाएको छ । नेपाल र भारतका विज्ञको प्राविधिक टोलिले संयुक्त रुपमा गरेको स्थलगत सम्भाव्यता अध्ययनपछि अधिकारीहरु यो निस्कर्षमा पुगेका हुन् । उक्त टोलिले नारायणी र कोसी नदीमा स्थलगत सम्भाव्यता अध्ययन गरेकी थियो ।
स्थलगत अध्ययनमा सहभागी एक सदस्यले भने, ‘कोसी र गण्डकी ब्यारेजभन्दा मुनि पानीको सतह न्यून भएको कारण नेपालभित्र तत्काल पानीजहाज संचालन असम्भव देखिन्छ ।’ उक्त ब्यारेजबाट अधिकांश पानी नहरको माध्यमबाट भारततर्फ नै लगिएको छ । त्यसै कारण हिउँदमा उक्त क्षेत्रमा पानीको सतह निकै कम हुन्छ । पानीजहाज संचालको लागी पानीको सतह बढी हुनु पर्ने तर भारत नदिमा पानी छोड्न तैयार नभएकोले पानीजहाज संचालनमा ल्याउन हाल सम्भव नभएको उनको भनाइ छ ।
उनले थप गर्दै भने, ‘बर्षाको समयमा पानीको सतह बढ्ने भएकोले त्यस समयमा पानीजहाज ल्याउन सकिएला तर त्यो दिगो भने हुँदैन । ‘भारतले हाल मात्र गण्डकी र गंगाको संगमस्थल हाजीपुरसम्म ३ सय किलोमिटर जलमार्ग निर्माणको थालनी गरेको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा राखिएको छ ।