काठमाडौँ, आईतबारको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको छ । करिब ३० जनाको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन् ।
उक्त क्षेत्रको अवलोकनको निम्ति प्रधानमंत्री देखि लिएर विभिन्न मंत्रीहरु गइसकेका छन् भने कतिपय जाने क्रममै छन् । यस्तैमा उक्त हावाहुरीबारे अध्यायन गर्न मौसमविद्हरुको टोली बुधबार पर्सा र बारा गएका थिए ।
यस्तैमा जल तथा मौसम विज्ञान विभाग र ‘द स्मल अर्थ नेपाल’ले संयुक्त रूपमा गरेको प्रारम्भिक अध्ययनबाट यो पुष्टि भएको छ कि गत आईतबार बारा-पर्सामा गएको आँधीहुरी सामान्य नभएर ‘ टोर्नाडो ‘ हो ।
वैज्ञानिकहरूका अनुसार ‘ टोर्नाडो ‘ सुनामीजत्तिकै शक्तिशाली हुरी हो । विभागका महानिर्देशक सुर्जकुमार वैद्यका अनुसार भू–उपग्रहबाट प्राप्त रेजुलेसनका तस्बिर अध्ययनबाट दुवै संस्थाका वैज्ञानिक टोलीले ‘ टोर्नाडो हुरी ‘ भएको पत्ता लगाएका हुन् ।