कलैया, १६ साउन/बारामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रसौनी गाउँपालिका–४ खुटवास्थित दुधौरा खोलामा डुबेर इब्राहिम अन्सारीका छोरा १० वर्षका साहिल र महागढीमाई नगरपालिका हाल मामाघर प्रसौनीमा बस्दै आएका अजमुरला अन्सारीका छोरा १२ वर्षीय अरमान रहेको प्रहरी प्रवक्ता रञ्जीतसिंह राठौरले जानकारी दिनुभयो ।
बिहानै बाख्रा चराउन गएका दुई जना नुहाउने क्रममा करीब ११ बजे पानीमा डुबेर गम्भीर घाइते भएपछि उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी प्रवक्ता राठौरले जानकारी दिनुभयो ।
मृतक ती दुई बालकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा राखिएको बारा प्रहरीले जनाएको छ । पानीमा डुबर मृत्यु हुनेको सङ्ख्या बारामा पाँच पुगेको छ ।
ऊर्जा मन्त्रालयमा कार्यसम्पादन करार सम्झौता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग मन्त्रालय मातहतका तीन सचिवले आज कार्यसम्पादन करार सम्झौता गरेका छन् ।
मन्त्रालयमा आज आयोजित समारोहमा मन्त्री पुनसँग ऊर्जा सचिव दिनेशकुमार घिमिरे, जलस्रोत सचिव डा सञ्जय शर्मा र जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव डा रमेशप्रसाद सिंहले कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतापछि मन्त्री पुनले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन र परिणाम निकाल्ने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “सबैभन्दा राम्रो परिणाम निकाल्ने, सुशासन र कार्यसम्पादनमा समेत अन्य मन्त्रालयभन्दा उच्चस्तरको नतिजा निकाल्ने गरी काम गर्नुस् ।”
प्रधानमन्त्रीसँग मन्त्रीहरुले पनि कार्यसम्पादन करार सम्झौता गरेको उल्लेख गर्दै मन्त्री पुनले मन्त्रालयका सचिव र सचिवले मातहतका अन्य विभाग र आयोजना प्रमुखसँग पनि सोही खालको सम्झौता गर्ने भन्दै उहाँले जनताले खोजेको अपेक्षालाई पूरा गर्ने गरी काम हुनुपर्नेमा जोड दिनुभयो ।
आर्थिक वर्ष २०७५÷७६ लाई आधार वर्षको रुपमा बिताएको उल्लेख गर्दै उहाँले चालू आवलाई परिणाम दिने वर्षको रुपमा अगाडि बढाउनुपर्ने, देश र जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताउनुभयो ।
सुशासन कायम गर्न तथा जिम्मेवार कार्यसम्पादनका लागि त्यस्तो सम्झौता गर्ने गरिन्छ । मन्त्री पुनले सकारात्मक परिणाम निकाल्नका लागि सम्बद्ध सचिव र उपस्थित कर्मचारीलाई निर्देशन दिनुभयो ।






