काठमाडौं, २१ असोज | लामो समयदेखि निरन्तर घटिरहेको जलविद्युत् कम्पनीका सेयर मूल्य बल्ल बढ्न थालेको छ । दुई महिनाअघिसम्म अंकित मूल्यभन्दा निकै तल रहेको जलविद्युत् कम्पनीका सेयरमा अहिले लगानीकर्ताको आकर्षण बढ्न थालेको छ ।
बजार निरन्तर बढेर अन्य समूहका सेयर मूल्य उक्लिएपछि लगानीकर्ता जलविद्युत् कम्पनीतिर मोडिएका हुन् । एक महिना अघिसम्म कतिपय कम्पनीको सेयर मूल्य सय रुपैयाँभन्दा निकै कम थियो । गत ६ सेप्टेम्बरमा १ हजार ७६ दशमलव ४८ अंकमा रहेको उपसूचक २९५ अंकले बढेर ६ अक्टुबरमा १ हजार ३७१ दशमलव ३० मा पुगेको छ । बढी मूल्य भएकाहरूको पनि अन्य समूहका कम्पनीको भन्दा तुलनात्मक रूपमा कम छ । यही कारण लगानीकर्ताको आकर्षण जलविद्युत् क्षेत्रमा बढेको हो ।
सरकारले नेपालको पानी जनताको लगानीअन्तर्गत जलविद्युत् आयोजना निर्माण गर्ने नीति लिएको छ । केही महिनाअघिसम्म दयनीय बन्दै गएको जनताले लगानी गरेको जलविद्युत् क्षेत्रमा पछिल्लो समय लगानीकर्ता यसमा लगानी गर्न इच्छुक देखिन थालेका छन् । जलविद्युत् आयोजनाको नियमन गर्न विद्युत् नियमन आयोग गठन भएको एक वर्षभन्दा बढी भए पनि जलविद्युत् आयोजनामा लगानी गर्ने लगानीकर्ताले महसुस गर्न पाएका थिएनन् । लगानीकर्ताहरू अब भने नियमन आएको महसुससमेत गर्न थालेका छन् । पुजा चँदारा लेख्नु भएको समाचार आजको राजधानी राष्ट्रिय दैनिकमा प्रकाशित छ ।