बर्षा रोकिने छाँटकाँट देखिएन, अब तिन दिनको मौसम यस्तो !

फाइल फोटो

काठमाडौँ, नरोकिएको बर्षा र क्षण भर मै बदलिरहने मौसमले हामी आजित भैसकेका छौँ । पश्चिमी वायुको प्रभावले आज पनि बिहानै देखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

मौसमविद् मञ्जु बासीका अनुसार पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणको प्रभावले पुनः वर्षा दोहोरिएको हो । उनले भने, ‘ अहिले पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हावाहुरी र वर्षा भइरहेको हो । ‘

प्रिमनसुनको समयमा मध्याह्नपछि मेघगर्जन, हल्का वर्षा, हावाहुरी चल्ने र चट्याङ पर्ने सामान्य गतिविधि हो । आज देशभरि नै हल्कादेखि मध्यम खालको वर्षा हुने बताइएको छ ।

मौसमविद्को भनाइ अनुसार अहिले विभिन्न प्रणाली मिसिएर मौसम प्रभावी भइरहेको हो र यस प्रणालीको प्रभावले अझै केही दिन मौसम पूर्णरूपमा सफा हुने अवस्था छैन ।

जल तथा मौसम पूर्वनुमान महाशाखाको अनुसार भोलि देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रही अपराह्नपश्चात् मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार देशका पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया