९ असार, काठमाडौं । गण्डकी प्रदेशसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रेशम बहादुर जुग्जालीले बजेटप्रति असन्तुष्टि जनाउँदै रोष्ट्रममै बजेट पुस्तिका च्यातेका छन्।
सोमबार बसेको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रममाथिको छलफलका क्रममा उनले बजेट पूर्वाग्रही भएको आरोप लगाउँदै उक्त कदम चालेका हुन्।
पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका जुग्जालीले हालको बजेटले विकासभन्दा धार्मिक प्राथमिकतालाई बढावा दिएको भन्दै कटाक्ष गरे। उनले भने, “यसपटकको बजेटबाट सबैभन्दा खुसी त देवी–देवता नै भएका होलान्।”
उनले म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्मको क्षेत्र घुमाउन अर्थमन्त्री र भौतिक मन्त्रीलाई सुझाव दिँदै बजेट वितरणमा क्षेत्रीय असन्तुलन रहेको टिप्पणी गरे।
जुग्जालीले गण्डकी प्रदेशको बजेटबारे टिप्पणी गर्दै भने, “यो बजेट सगरमाथा हिँड्न निस्किएको थियो, तर हिन्द सागरतिर पुग्यो।”