काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा दिएका केही अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गर्दै आएका छन् । केहि दिन अघि मात्र उनले दिएको अपत्यारिलो अभिव्यक्तिको कारण उनि आलोचित हुन पुगेका हुन् ।
गत शनिबार मदन भण्डारीको ६८औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘ मैले प्रधानमन्त्री हुँदाका बेला भनेको थिएँ– अब काठमाडौंमा नाक समाएर हिँड्नुपर्दैन । माक्स लगाएर हिँड्नुपर्दैन । म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिँड्थे । अहिले सडकमा मास्क लगाएर कोही पनि हिँड्दैनन् । ‘
प्रधानमन्त्रीले यसो भन्दा कार्यक्रममा उपस्थित धेरैले ताली समेत बजाएका थिए । प्रधानमन्त्रीको भाषण पत्याउने हो भने उपत्यका धुवाँ र धुलोमुक्त भएकाले सडकमा माक्स लगाएर हिँड्नपर्ने अवस्था छैन् ।
तर यथार्थ भने ठीक उल्टो छ । प्रधानमन्त्रीले हावादारी कुरा बोलेको भन्दै सामाजिक सञ्जालमार्फत चर्को आलोचना भएको छ । सडकमा हिँड्नेले पनि प्रधानमन्त्रीले यथार्थभन्दा बाहिर गएर बोलेको भन्दै आलोचना गरेका छन् । जोरपाटी, बौद्ध, चाबहिल, रत्नपार्क, कोटेश्वर, चक्रपथ, थानकोटलगायत सडकमा हिँड्दा वायु र धुलो–धुवाँजन्य प्रदूषणबाट बच्न माक्स लगाएर हिँड्नपर्छ । प्रधानमन्त्रीले वास्तविकताभन्दा टाढा गएर भाषण गरेको भन्दै सर्वसाधारण एकै स्वरमा भन्छन, ‘ माक्सबिना त सडकमा हिँड्नै सकिँदैन । ‘
यस समाचार आजको नागरिक दैनिकमा श्याम राईले लेखेका छन् ।







