प्रधानमंत्री सवारी : आधा घण्टाको लागी सबै उडान ठप्प !

फाइल फोटो

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीको आज बिहीबारबाट हुने दक्षिणपूर्वी एसियाली मुलुकहरु भियतनाम र कम्बोडियाको भ्रमणलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको उडान सेवा आधा घण्टाको लागी ठप्प हुने भएको छ ।

विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले भने, ‘ प्रधानमन्त्रीको उडानको समय बिहान ११ बजेदेखि ११ः३० सम्म विमानस्थलका आन्तरिक तथा बाह्य दुबै उडान तथा अवतरण बन्द हुने सूचना जारी गरिसकेका छौँ । समयमा प्रधानमन्त्रीको उडान भए त्यो भन्दा बढी समय अन्य उडान तथा अवतरणमा बाधा पर्दैन । ‘

भिभिआइपी सवारीलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको क्षेत्रिले बताएका छन् । क्षेत्रिका अनुसार सर्वसाधारण यात्रुहरुलाई धेरै सास्ती नहोस् भनेर यसअघि भिभिआईपी सवारीका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदै आएकोमा यसपटक भने समय घटाइएको छ ।

प्रधानमन्त्री ओली नेपाल वायुसेवाको चार्टड विमानबाट ११ः२५ बजे ५ दिने विदेश भ्रमणका कागी जान लागेका हुन् । परराष्ट्र मन्त्रालयको जानकारी अनुसार उनी भियतनामका प्रधानमन्त्री गुयन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री ओली ३ दिन भियतनाम र त्यसपछिका २ दिन कम्बोडियाको भ्रमण गर्नेछन् । भियतनाममा ओलीले भियतनामी समकक्षी गुयन सुआन फुकसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनले त्यहाँको संसद् ‘नेसनल एसेम्बली’का अध्यक्षसँग भेट्नुका साथै भियतनामी प्रधानमन्त्रीले ओलीको सम्मानमा रात्री भोजको आयोजना दिने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया