काठमाडौँ, तिलोत्तमामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमंत्री के.पी. ओलीले नेपाल मगन्ते देश नभएको बताएका छन् । विदेशी सहयोग नआउने भनेर हल्ला चलाउन थालिएको भन्दै उनले आफ्नो देशको प्राकृतिक श्रोतको सदुपयोग गर्दै समृद्ध मुलुक बनाइने बताए ।
उक्त कार्यक्रममा उनले खनिज, पेट्रोल, फलाम, सुन जस्ता खानी रहेकाले नेपाल आफैंमा सम्पन्न राष्ट्र भएको तर्क पनि गरे । उनले सरकारले चौतर्फी विकाशको लहर ल्याउन थाले पछि केहिलाई पिर परेको बताए । उनले भने, ‘ सडक चौडा बनाउँदा पनि बर्बाद भो भनेका छन्, एअरपोर्ट बनाउन थालेपनि बर्बाद भो भनेका छन्, झन् विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण खोज्दा त झनै बर्बाद भो भनेर कराउन थालेका छन् । तर, सरकार समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा दृढ भएर अघि बढेको छ । ‘
उनि भन्छन्, ‘ विज्ञानकै कारण अरुको मिर्गौला लिएर चलेको मान्छे मै हुँ । चलेको मात्र हैन, प्रधानमन्त्री नै बनेको छु । ‘ उनले कार्यक्रममा स्वास्थ्य सम्बन्धी चर्चा पनि गरे । उनले असन्तुलित,अस्वस्थ खानाले रोगहरु बढेका भन्दै स्वास्थ्य आहार लिन पनि आग्रह गरे । उनले मानिस जति कम सुत्छ उति छिटो मर्छ भन्दै थकाई मर्ने गरी आराम र भोक लाग्ने गरी काम र व्यायाम गर्न सुझाव दिए ।
तिलोत्तमा नगरपालिका– १ र ८ मा पर्ने शंकरनगर र करिहया सामुदायिक वनको २ सय बिघा जग्गामा मेडिकल कलेज बन्ने छ । संघीय सरकारले चालु आर्थिक वर्षको वजेटमा तिलोत्तमा, बर्दिबास र सुर्खेतमा गरी तीनवटा मेडिकल कलेज स्थापनाका लागि एकमुष्ट ३० करोड रुपैयाँ विनियोजन गरेको थियो । योजना अनुसार उक्त मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजको रुपमा स्थापना हुने बताइएको छ । यसको निम्ति करिब १० अर्ब खर्च हुने अनुमान गरिएको छ ।