प्रदेश २ सरकारमा एकीकृत समाजवादी सहभागी हुने पक्का, शत्रुद्यन र प्रमोद मन्त्री बन्ने

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश २ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ ।

पार्टीका संसदीय दलका नेता शत्रुद्यन महतो र सांसद प्रमोद यादवलाई सरकारमा सहभागी गराइने पार्टीका प्रदेश इन्चार्ज धर्मनाथ साहले जानकारी दिए ।प्रदेश सरकारको नेतृत्व गर्ने जनता समाजवादी पार्टी (जसपा) ले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन केही दिनअघि आफ्नै पार्टीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई पदमुक्त गरेका थिए ।

एकीकृत समाजवादीलाई यो मन्त्रालायसहित कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय दिने तयारी छ ।

तत्कालिन राजपाबाट सरकारमा सहभागी भएका मन्त्रीलाई हटाएपछि जसपाले प्रदेशका ६ मन्त्रालय टुक्रयाएर १० मन्त्रालय बनाएको थियो । जसमध्ये कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय र बाणिज्य आपूर्ती तथा विज्ञान प्रविधि मन्त्रालय मुख्यमन्त्री लालबाबु राउतले आफ्नै जिम्मामा राखेका थिए ।

यो मन्त्रालय एकीकृत समाजवादीलाई दिने भनिएपनि नेकपा एसका नेताहरुले लिन मानेका थिएनन् । यी दुवै मन्त्रालयमा बजेट नरहेकाले अर्काे मन्त्रालय दिन यो पार्टीले भन्दै आएको थियो ।

एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउनकै लागि जसपाले आफ्नै मन्त्रीलाई पदमुक्त गरेको हो । पछिल्लो पटक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय लिएर सरकारमा सहभागी हुन तयार भएको छ ।

पार्टीका प्रदेश इन्चार्ज साहका अनुसार दुवै मन्त्रीको शपथ ग्रहण आइतबार दिउँसो २ बजेका लागि राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया