काठमाडौँ, हिजो आईतबारको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको छ । करिब ३० जनाको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन् ।
यस्तोमा प्रदेश सरकारले मृतक परिवारलाई ३ लाख रुपैयाँ तत्कालिन राहत दिने भएको छ र साथ साथै घाइते भएकाहरुको उपचार खर्च पनि प्रदेश सरकारले नै व्यहोर्ने र घरबार गुमेकाहरुको बासस्थानका लागि प्रदेश सरकारले नै पहल गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मंत्रीपरिषद वैठकले राहत तथा उद्धार व्यवस्थापनका लागि उच्चस्तरीय समिति गठन गरेको छ। गठन समिति बारे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक सञ्जालमार्फत सार्बजनिक गरेका हुन् ।
आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा गठित उच्चस्तरीय समितिमा पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय, मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा, सामाजिक विकास मन्त्री नवलकिशोर साह र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव अरुण झा सदस्य रहेका छन् ।
यस समितिको कार्य हावाहुरीबाट भएको क्षतिको अध्ययन गरी तत्काल राहत तथा उद्धार उपलब्ध गराउने बुझिएको छ ।