प्रतिनिधिसभा बैठक निर्धारित समयमा सुरु हुन सकेन

काठमाडौं — प्रतिनिधिसभाको दिउँसो २ बजेका लागि तोकिएको बैठक दलहरूबीचको असमझदारीका कारण अझै सुरु हुन सकेको छैन।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको मागलाई लिएर विपक्षी दलहरूले आफ्नो अडान यथावत राखेका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको विपक्षी दलहरूको बैठकले छानबिन समिति सुनिश्चित नभएसम्म सदन सञ्चालन नहुने निष्कर्ष निकालेको छ।

नेपाल कांग्रेसले केही लचकता देखाए पनि माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीको अनिच्छाका कारण सदनमा गतिरोध लम्बिएको दाबी गरेको छ।

प्रतिनिधिसभा गत जेठ १३ गतेदेखि लगातार अवरुद्ध हुँदै आएको छ। विपक्षीहरूले जेठ १५ गते बजेट प्रस्तुत गर्न बैठक सञ्चालन गर्न दिएका थिए, तर त्यसपछिका बैठकमा निरन्तर अवरोध जारी राखेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया