पोखरामा अल्ट्रालाइट दुर्घटना !

फाइल फोटो

काठमाडौँ, हेलि एअर कम्पनीको चालक सहित दुई यात्रु सवार अल्ट्रालाइट मंगलबार अवतरणको क्रममा पोखरामामा दुर्घटना भएको छ । दुई यात्रु अल्ट्रालाइट चालक फ्रान्सका ४५ वर्षीय एरिक र नवलपरासी गैंडाकोट नगरपालिकाका ३५ वर्षीय अनिश भट्टचन थिए ।

पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलका अनुसार दुर्घटनाबाट यात्रुको हातमा सामान्य चोट लागेको छ । अल्ट्रालाइट विमानस्थलको दक्षिण धावनमार्गमा अवतरण गर्ने क्रममा दिउँसो करिब २ बजेर १५ मिनेटमा दुर्घटना भएको थियो ।

सूचना अधिकारी पौडेलले उक्त अल्ट्रालाइट १ बजेर ४५ मिनेटमा उडान भरेको बताएका छन् । जिल्ला प्रहरी कास्कीका डिएसपी रवीन्द्रमान गुरुङले अल्ट्रालाइटको पंखामा खराबी भएका कारण दुर्घटना भएको हुन सक्ने जानकारी दिएका छन् ।

उनले भने, ‘ अल्ट्रालाइटको २ वटा पंखामा खराबी रहेछ । त्यसैका कारण दुर्घटना भएको हुन सक्छ । ‘ यस अघि पनि पोखरा विमानस्थलमा ३ ठूला अल्ट्रालाइट दुर्घटना भएका थिए ।

त्यस दुर्घटनामा ३ विदेशी र २ नेपालीको ज्यान गएको थियो । तिनै दुर्घटनामा एभिया क्लबले उडाउँदै आएको अल्ट्रालाइट रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया