काठमाडौँ, २९ असोज । लामा तथा मध्यम दूरीका सवारी यति बेला सिट संख्याको आधामा मात्र यात्रु राखेर चलिरहेका छन् । सरकारले कोभिड–१९ संक्रमण बढ्न थालेसँगै गरेको लकडाउनका कारण ६ महिना बन्द रहेका लामा दूरीका सवारी असोज १ देखि भाडा थप ५० प्रतिशत बढाएर सञ्चालन भइरहेका थिए । तर सरकारले गाडीका पूरै सिटमा यात्रु राख्न पाउने निर्णय गरिदिएपछि व्यवसायीले साविककै अर्थात् पुरानो भाडादर लिने भएका छन् ।
यसअघि उनीहरूले आधा सिटमा मात्र यात्रु बोक्दा घाटा सहनुपरेको भन्दै पूरै सिटमा यात्रु बोक्न दिनुपर्ने माग गर्दै आएका थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सवारीका पूरै सिटमा यात्रु बोक्न दिने निर्णय गरेको एक मन्त्रीले बताए । केही गाडीले आधा सिटभन्दा बढी यात्रु राखेको, स्वास्थ्य मापदण्ड पनि पालना नगरेको र बढी भाडा पनि लिएको पाइएको विषयमा सोमबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको आजको कन्तिपुर दैनिकमा विमल खडिवडाले लेख्नु भएको खबर छ ।