सिन्धुली, २५ साउन/आज दिउँसो एक महिलाको सुनकोशी नदीमा डुबेर मृत्यु भएको छ । काभ्रे पाँचखाल नगरपालिका–१० निवासी ३४ वर्षीया सरस्वती रायमाझीको सुनकोशी नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
माइती घर रामेछाप बेथान गाउँपालिका–६ जुङ्गेपानी जान भनी श्रीमान् ओमबहादुर रायमाझीसँग हिँडेकामा सरस्वतीले सिन्धुलीको सुनकोशी गाउँपालिका–१ कुशेश्वर मन्दिर नजिक सुनकोशी नदीमा हामफाली बेपत्ता भएको सरस्वतीका श्रीमान् ओमबहादुर रायमाझीले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीलाई जानकारी हुनेबित्तिकै खोजी गर्दा घटनास्थलभन्दा २१ किलोमिटर तल सुनकोशी गाउँपालिका–६ खहरे दोभानमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।
श्रीमान् र श्रीमतीसँगै हिँडेका सरस्वतीले पानी खाने भनी कोशीको छेउमा गएको र हामफालेको भन्ने बुझिए पनि आवश्यक अनुसन्धान भइरहेको र शव परीक्षणपछि घटनाको बारेमा भन्न सकिने उहाँको भनाइ छ । भेटिएको शव श्रीमान् ओमबहादुरले आफ्नी श्रीमतीको शव हो भनी पहिचान गरिसकेका छन् ।
मिस टुरिज्मको उपाधि आरजुलाई
यस वर्षको (सन् २०१९) ‘मिस टुरिज्म’ को उपाधि विराटनगरकी आरजु पोखरेलले जितेकी छन् । १० प्रतियोगीलाई आज भएको अन्तिम प्रतिस्पर्धामा पछाडि पार्दै २१ वर्षीया पोखरेलले सो उपाधि चुमेकी हुन् ।
निर्णायक नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले सोधेको ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रमलाई लाई सफल पार्न गर्नुपर्ने प्रमुख तीन कामहरु के–के हुन् ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै पोखरेलले उपाधि जित्न सफल हुनुभएको हो । उपाधिसँगै उहाँले रु ५० हजार नगद प्राप्त गर्नुका साथै पर्यटन क्षेत्रमा विभिन्न अवसर पाउने हुनुभएको छ ।
प्रतियोगितामा फष्ट रनअर अप काठमाडौँकी युसिका तुलाधर र सेकेन्ड रनअर अप झापाकी सविता न्यौपाने घोषित भए । उनीहरुले क्रमशः रु ३० हजार र २० हजार हात पारे । मिस टुरिज्मको उपाधि विजेता पोखरलेले ट्राभल एण्ड टुरिज्म विषयमा स्नातक गर्नु भएको छ । उहाँ हाल रोयल माउण्टेन ट्राभलमा काम गर्दै आउनु भएको छ ।
ताज जितेपछि पोखरेलले रासससँग संक्षिप्त कुराकानी गर्दै नेपाल भ्रमण वर्ष अयिभानलाई सफल बनाउन सक्रियरूपमा लाग्ने बताउनुभयो ।
उहाँले आफू पर्यटन क्षेत्रमै आवद्ध भएकोले आफ्नो अनुभवलाई आगामी दिनमा पनि यस क्षेत्रको प्रवद्र्धनमा सहयोग गर्ने बताउनुभयो । प्वाइन्ट मिडिया प्रालिले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मिस टुरिज्म प्रतियोगिताको आयोजना गर्दै आएको छ । पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि, महिला सशक्तीकरण र आम युवालाई आकर्षित गर्दै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ प्रतियोगितालाई निरन्तरता दिइएको कम्पनीका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताउनुभयो ।
सन् २०१६ देखि हरेक वर्ष मिस टुरिज्म प्रतियोगिता गरिदै आएको छ । पहिलो मिस टुरिज्म ओरुसा थापा भइन् भने सन् २०१७ मा आरती थापा र सन् २०१८ मा मनिता पौडेलले उपाधि जितेका थिए ।