काठमाडौँ, पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा सोमबार राती दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घट्नास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार राती स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरि हत्या गरिएको हो ।
उक्त हत्यामा भागेर बाँच्न सफल १२ बर्षीय बालिका सिता खुजुमले अज्ञात हत्यारा समूहले कपडाले अनुहार ढाँकेर आई हत्या गरेको कुरा खुलाएकी छिन् ।
यसैबीच हत्या भएको उक्त घरमा केही दिन अघि पनि एक घटना घटेको खुलासा भएको छ । धन बहादुर शेर्माको त्यस घरमा ४ दिन अघि मात्र एक अर्को रहश्यपूर्ण घटना घटेको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ की वडाध्यक्ष उर्मिला राईले जानकारी दिएकी छिन् ।
गाउँमा सानो पसल संचालन गरि आफ्नी जिविका चलाई रहेका धन बहादुर शेर्माको गाउँमा केही दिन अघि प्रशिक्षण दिनका लागि साना घरेलु विकास कार्यालयबाट एक टोली आएको थियो ।
राईका अनुसार उक्त टोली शेर्माको घरमा बसेका थिए र उनीहरुको लागी पकाइएको खानामा प्रयोग भएको नुनमा सिसाको धुलो रहेको समेत पाइएको थियो ।
उक्त खाना खाएर उनीहरु बिमारी परेको बताउँदै राई भन्छिन्, ‘ त्यो खाना खाएर केही मान्छे बिरामी परेका थिए । त्यसको ४ दिनपछि अहिले परिवारैको हत्या भएको छ । घटना रहस्मय छ। ‘
वडाध्यक्ष राईले खानामा सिसा भएको नुन कसरी आयो भन्ने बारे अनुसन्धान भैरहँदा उक्त घटनाको ४ दिनमै यती ठुलो घटना बहेको कुरा साधारण नभएको बताएकी छिन् ।