पाँचथर हत्याकाण्ड : गाउँपालिका अध्यक्ष भन्छन्, ‘ रगतको खोलै बगे जस्तै थियो ‘ !

फाइल फोटो

काठमाडौँ, पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा सोमबार राती दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ ।       हत्याबारे एक पछि अर्को गर्दै निकै रहश्यहरु खुल्दै आएका छन् ।

घटनास्थलबाट भागेर आफ्नो ज्यान जोगाउन सफल भएकी १२ बर्षीय सिता खुजुमले हत्याराको समूह कपडाले आफ्ना अनुहार ढाँकेर आएका बताएकी छिन् । त्यस्तै मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ की वडाध्यक्ष उर्मिला राईले घटनाको ४ दिन अघि मात्र सोही घरमा अर्को रहश्यमय घटना घटेको समेत खुलाएकी छिन् ।

उनका अनुसार ४ दिन अघि प्रशिक्षण दिनका लागि साना घरेलु विकास कार्यालयबाट आएका टोलीलाई खुवाउने खानामा प्रयोग भएको नुनमा सिसाको धुलो मिसाइएको भेटिएको थियो ।

त्यसैगरी यस घटनाबारे मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिमले घटनाबारे आफुले मंगलबार बिहान ६ बजेर ११ मिनेटमा थाहा पाएको र थाहा पाए लगत्तै नजिकैको प्रहरी चौकी, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई खबर गरी इन्सपेक्टरसहित आफुहरु घटना स्थलमा पुगेको बताएका छन् ।

घटनास्थलमा पुग्दा पहिला ससुरा बमबहादुर फियाकको शव देखिएको बताउँदै उनि भन्छन्, ‘ बमबहादुर घर बाहिर सिखुवामा सुतेका रहेछन् । उनको अनुहारभरी धारिलो हतियार प्रहार गरेको देखियो । अनुहार नचिन्ने गरी हानिएको छ । छ्याक–छ्याक पारेको देखियो । यताउता रगत लत्पतिएको देखियो । ‘

उनले भने, ‘ बमबहादुरको घरमा ४ वटा शव थिए । जसमा एउटा बाहिर र ३ वटा भित्र । हेर्नै नसकिने अवस्था थियो । ‘

त्यसपछी आफुहरु ज्वाइँ धनराज शेर्माको घरमा जाँदा झनै विभत्स दृश्य देखिएको बताउँदै उनले भने, ‘ ज्वाइँ धनराज शेर्माको घरमा जाँदा झनै विभत्स दृश्य देखियो । भित्र जान सकिएन । बाहिरैबाट हेर्दा २ बालबालिका खाटमा रगताम्य भएर लडिरहेको देखियो । ३ वटा शव खप्टिएको देखियो । जताततै रगतै रगत थियो । रगतको ‘खोलै’ बगे जस्तै थियो । ‘

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया