पाँचथरमा घट्यो भयानक घटना, एकैदिन ९ जनाको विभत्स हत्या,१ बालिका घाइते यस्तो भन्छ नेपाल प्रहरी !

प्रतीकात्मक तस्वीर

फिदिम । पाँचथरमा भयानक घटना घटेको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले २ परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि प्रहरी घटनास्थल जान लागेको जानकारी दिए ।

१ बालिका घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । यति धेरै जनाको विभत्स हत्या कसले, किन गर्यो भन्नेबारे केहि खुलेको छैन । प्रहरीले घटनाबार प्रारम्भिक जानकारी आएको मात्रै जनाएको छ ।

‘घटनाबारे हामीलाई प्रारम्भिक जानकारी आएको छ । अहिले नजिकैको इलाका प्रहरी कार्यालयसँगै जिल्लाबाट टोली घटनास्थलतर्फ लागेको छ’, प्रहरी निरीक्षक अनील पौडेलले भने, ‘प्रहरी घटनास्थल नपुगी यसबारे थप केही भन्न सक्ने अवस्था छैन ।’

घटनास्थल मिक्लाजुङ पाँचथर सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिण पर्छ ।पाँचथरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मुरारी वस्तीले घटनास्थल सदरमुकामबाट टाढा रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको बताए । उनका अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट डीएसपी र नजिकैको इलाका प्रहरी कार्यालयबाट इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जानकारी प्रजिअ वस्तीले दिए ।

पाँचथरसँगै छिमेकी जिल्ला झापाबाट पनि प्रहरी बोलाइएको छ । घटनाबारे अनुसन्धानका लागि झापाको साथ खोजिएको प्रजिअ वस्तीले बताए । प्रजिअ वस्तीका अनुसार, झापाबाट डीआईजीसहितको अनुसन्धान टोली अहिले घटनास्थलतर्फ लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया