पहिलो पटक बम्जनको आश्रममा प्रहरी र सीआईबीको छापा

तस्वीर : सामाजिक संजाल

पब्लिक आवाज /संवाददाता

काठमाडौं । चर्चित डिजिटल पत्रिका सेतोपाटीले तपस्वी रामबहादुर बम्जनको आश्रममा भएका कर्तुत बारे श्रृंखलाबद्ध रुपमा समाचार प्रकाशित गरे पछि सबैको ध्यानाकर्षण भएको छ ।

बम्जन विरुद्ध नेपाल प्रहरीमा मुद्दा परे पछि प्रहरीले तपस्वीका रुपमा चर्चामा आएका बम्जनको आश्रममा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले संयुक्त रुपमा आज बिहान बाडेगाउँस्थित आश्रममा छापा मारेको हो ।

‘आश्रममा छापा मारेका छौं, अहिले यत्ति भन्छौं ।’पब्लिक आवाज संग टोलीकै एक सदस्यले भने । बम्जनको आश्रममा खानतलासी गर्न जिल्ला अदालतले बिहीबार प्रहरीले अनुमति दिएको थियो ।

 

डिजिटल पत्रिका सेटोपाटीले प्रकाशित गरेका उक्त समाचारहरु

बमजन आश्रमबाट तीन आनी बेपत्ता, एक अनुयायीको हत्या

बमजनको आश्रमबाट भागेका तीन आनीको कथा

सर्लाही, पत्थरकोटस्थित रामबहादुर बमजन आश्रमबाट २०७४ जेठ र असारमा १० जना आनीहरू भागे।

उनीहरू सांसारिक जीवन त्यागेर आश्रम पुगेका थिए। विवाह नगर्ने र जीवनभर आनी बन्ने उनीहरूको निधो थियो। बमजनलाई गुरू, अझ कतिले त भगवानै मान्थे। तर, दुई वर्ष नपुग्दै उनीहरू भागेर आ-आफ्नै घर फर्किए। ती दस जनामध्ये तीन जनालाई बमजनले थर्काउँदै, फकाउँदै फिर्ता लगेका छन्।

भागेकामध्ये तीन जना आनीलाई हामीले छुट्टाछुट्टै भेटेर सोध्यौं- उनीहरूले बमजनको आश्रममा के देखे? त्यहाँ बस्दा उनीहरूले के गर्नुपर्थ्यो? आनी गंगामाया तामाङले बमजनमाथि सार्वजनिक रूपमा लगाएको बलात्कार आरोपमा कति सत्यता छ? उनीहरू कसरी भागे?

हामीले भेटेर यी प्रश्न सोधेकामध्ये एक हुन्, १५ वर्षीया सरिता पाख्रिन।

उनी १३ वर्ष उमेरमा बमजनको आश्रममा गएकी थिइन्। पत्थरकोटमा एक वर्षभन्दा बढी र सिन्धुली आश्रममा दुई महिनाजति बसिन्।

उनी पत्थरकोट जाँदा त्यहाँ १७ जना आनी थिए। १४ जना भर्खर गएका थिए, तीन जना पुराना। पुरानामध्ये गंगामाया तामाङ पनि थिइन्।

आश्रममा सरिताजस्तै कलिला नानीहरू मैत्री धर्मको ज्ञान लिन र आनी बन्न पुगेका थिए। तर, त्यहाँ धर्म र ज्ञानको कुरै हुन्नथ्यो।

‘आश्रमभित्र खेतबारी थियो। खन्ने, बाली/तरकारी लगाउने काम गर्थ्यौं। घरको काम पनि गर्नुपर्थ्यो। भान्छाको काम सबै आनीहरूले नै गर्ने हो,’ सरिताले सम्झिइन्, ‘हामीले चेलाहरूका लागि पनि खाना पकाउनुपर्थ्यो।’

केही आनीले बमजन र उनकी श्रीमतीको स्याहारसुसार गर्नुपर्थ्यो। धर्मबारे उनीहरूलाई कसैले पढाएन। त्यहाँ मैत्री धर्मसम्बन्धी एउटा किताब हुन्थ्यो। त्यो पनि आफैं पढ्ने हो। लामा भाषामा लेखिएकाले धेरै आनीले त्यो किताब पढ्न सक्थेनन्। बमजनबारे लेखिएको किताब पनि पढ्नुपर्थ्यो।

उनीहरूले ‘गुरू’ सँग आफूहरूलाई ज्ञान दिने कक्षा व्यवस्था गर्न माग नराखेका हैनन्। बमजन यसबारे कहिल्यै गम्भीर भएनन्। उनले आनीहरूलाई कहिलै पढाएनन्। प्रवचन पनि दिएनन्। उनी तपस्यामा लीन भएको पनि आनीहरूले कहिल्यै देखेनन्।

सरिताका अनुसार आनीहरूले कचकच गरेपछि एकदिन बमजनले भने, ‘तिमीहरूलाई ज्ञान किन चाहियो? भाग्नलाई?’

गुरूले कहिलेकाहीँ ‘सम्झाउने’ गरेको सरिताले बताइन्।

‘त्यहाँ गल्ती गर्ने आनीलाई सम्झाउने हो गुरूले। त्यो बेला उहाँलाई रिस उठ्यो भने पिटाइ भेटिन्थ्यो,’ उनले भनिन्।

उनका अनुसार आफूमाथि प्रश्न गर्ने वा गल्ती गर्ने आनीहरूलाई बमजन खुब पिट्थे।

सरिताले एकपटकको घटना सम्झिइन्। दुई जना आनी मनमाया र पेम्बाले घर जान मन लागेको कुरा बमजनसमक्ष राखे। उनले प्रश्न गरे, ‘किन जाने? केही कारण नभई पठाउँदिनँ।’

‘कारण केही छैन गुरू,’ मनमायाले टाउको झुकाउँदै सुस्तरी भनिन्।

‘कारण भन्ने भए भन्, नभए मेरो नियम अर्कै छ,’ बमजनले धम्कीपूर्ण लवजमा भने।

‘बस्न मन छैन,’ मनमायाले भनिन्।

‘घरबार त्यागेर आनी बन्न आएपछि बुबाआमाको जस्तो माया पाइँदैन। त्यस्तो खोज्नु पनि हुन्न,’ बमजनको स्वर उचो हुँदै गयो।

मनमयाले भनिन्, ‘आश्रममा बस्न मन भएन।’

बमजन उठेर उनीहरूको नजिकै आए। झ्याम्मै गालामा हाने।

‘गुरूले मनमाया र पेम्बा आनीलाई पालैसँग पिट्नुभयो। आनीहरू ढलपल ढलपल भएर लडे,’ सरिताले भनिन्, ‘गुरूको हात हेर्दै बलियो थियो। मलाई सम्झिँदा अहिले पनि डर लाग्छ।’

केही समयपछि मनमायाका बुबाआमा आश्रम आए। मनमायाले आफू आश्रममा बस्न नसक्ने बताइन्। बुबाआमाले भने आफूहरू पनि सांसारिक जीवन त्यागेर ‘त्यागी’ बन्न आश्रममै आउन लागेको सुनाए।

‘मनमाया आनी रुनुभयो, पछि चुपचाप बस्नुभयो,’ सरिताले भनिन्।

बमजनले गंगामायालाई आश्रमबाट निस्केर जान धेरैपटक भनेको सरिताले सुनेकी थिइन्। ‘गंगा आनीलाई एकपटक टर्च चोरेको आरोप लगाइएको थियो। त्यो झुटो आरोप हो भन्ने हामी सबैलाई थाहा छ,’ सरिताले भनिन्।

गुरूले गंगाका बुबालाई बोलाएर उनलाई घर पठाउन पनि खोजे। तर, गंगा जान मानिनन्।

बमजनले एकदिन गंगालाई बोलाए।

‘हामी सबै आनीहरू गंगा आनीकै पछिपछि गयौं,’ सरिताले भनिन्, ‘गुरूले गंगालाई फेरि भने- घर किन नगएको? घर जा।’

गंगाले यत्ति उत्तर दिइन्, ‘म जान्नँ।’

बमजनले फेरि भने, ‘भागेर जा।’

‘त्यो दिन गुरूले गंगा आनीलाई धेरै जान्ने भइस् भने तेरो भाइ र बाबालाई मारिदिन्छु पनि भनेका थिए,’ सरिताले भनिन्।

आनीहरूले प्रतिवाद गरे, ‘गंगाको के गल्ती छ र जाने गुरू?’

गुरूले आँखा तर्दै भने, ‘तिमीहरू पहिले सबै पत्थरकोट जाओ। गंगा आश्रम छाडेर जा। ऊसँग मिल्नेहरु सबै जाओ। मलाई विश्वास गर्ने मात्रै बस।’

अर्की आनी जमुनाले अघि सरेर गुरूलाई सोधिन्, ‘गंगाको के गल्ती छ?’

त्यसपछि बमजनले जमुनालाई ड्याम्मै हिर्काए। सरिताका अनुसार त्यो दिनको झगडामा गंगाले बमजनलाई हाँकै दिइन्।

‘मेरो शरीर पहिले जस्तो थियो, त्यस्तै बनाएर दे, अनि म यहाँबाट जान्छु,’ गंगाले भनेको सम्झिँदै सरिताले भनिन्।

गंगाले त्यो दिन बमजनलाई त्यसरी लल्कारेको अर्की आनी शर्मिलाले पनि पुष्टि गरिन्। शर्मिलाले गंगामाया र गुरूबीचको नोकझोँक पहिले पनि देखेकी थिइन्।

गंगामायाले नयाँ आनीहरूलाई गुरूछेउ नजानू भनेको धेरैपटक सुनेकी थिइन्।

शर्मिलालाई त्यो बेला गंगाले गुरुको कुरा काटेको, उनका विरूद्ध कुरा गरेको मन परेको थिएन।

‘म त सोच्थेँ, यो गंगा आनी के भा’को होला! गुरूविरूद्ध पनि बोल्छ, गुरूसँग झगडा गर्छ,’ उनले भनिन्।

हामीसँग कुरा गर्दै शर्मिलाले आफू सुरुमा आश्रम जाँदाको घटना सम्झिइन्।

‘म त सांसारिक जीवनमा नफर्किने, धर्म कमाउने, आनी बन्ने भनेर त्यहाँ गएको थिएँ। गुरूलाई भगवान मान्थेँ। गुरूप्रति धेरै नै बफादार थिएँ। त्यसैले, गंगा आनीले गुरूको विरोध गर्दा मलाई ननिको लाग्थ्यो,’ उनले भनिन्।

‘गुरूनजिक अरू आनी आउँछन् भनेर गंगालाई डाहा भएको होला भन्ठान्थेँ नि म त,’ शर्मिलाले अगाडि थपिन्, ‘गुरू नै भगवान हो भन्ने विश्वास थियो, त्यसैले गंगालाई विश्वास गर्दिनथेँ।’

बमजनप्रति बफादारीकै कारण उनी धर्मकर्म र आश्रमका काममा दत्तचित्त थिइन्।

बिहान साढे ४ बजे उठ्ने नियमै थियो। आधा घन्टा हातमुख धुने, ब्रस गर्ने। ५ देखि ६ बजेसम्मको समय पुस्तक पढ्ने। भान्छा आनीहरूले नै बनाउनुपर्थ्यो। दिउँसो आश्रमको काममा जुट्नुपर्थ्यो।

शर्मिला कुनै गुनासो नगरी काम गर्थिन्। ‘काम त कति हो कति। जुन आश्रममा गए पनि कामै काम,’ उनले भनिन्। आश्रमको काम उनका लागि धर्मकै अंग थियो। भगवानमा समर्पित हुने माध्यम।

‘ओहो! हामीले त्यहाँ कति काम गर्यौं! छाकमा ३०/३५ जनालाई पकाउनुपर्थ्यो। बारीमा तरकारी रोप्ने, धान रोप्ने, अरू खेती लगाउने, उठाउने। दाउरा काट्ने। धर्मका लागि भनेर हामीले के के गरेनौं? जोडैले काम गरेम्,’ उनले भनिन्।

दस कक्षासम्म पढेर आश्रम गएकी शर्मिलाले त्यहाँ पढ्ने किताब सामान्य थिए। तिनमा बमजनको जीवनी हुन्थ्यो। उनको जन्मकथा। पूर्वजन्मकथा। धर्म भने पनि त्यही, ज्ञान भने पनि त्यही। त्यसबाहेक लामा भाषाको अर्को सानो किताब पनि थियो, जुन कमै आनीहरूले बुझ्थे।

बमजन र गंगामायाबीच त्यो दिनको झगडाले शर्मिला ‘तीनछक’ परिन्। गंगाले ‘गुरू’ लाई भनेको सुनेर उनको दिमाग सनन्न भयो रे।

‘गंगा आनी त ठाडठाडै गुरूसँग बाझ्नुभो। तँ पहिले मेरो शरीर जस्तो थियो, त्यस्तै बना अनि म घर जान्छु भन्नुभयो,’ शर्मिलाले सम्झिइन्, ‘हो, त्यो बेला म पहिलोपटक झस्किएँ, के भनेको हो गंगा आनीले भनेर।’

गंगाको हाँक सुनेर बमजन रिसले आगो भैसकेका थिए। उनले आएर गंगालाई झम्टे। हात समातेर ताने। गंगाले पनि बमजनको टाउको लुछिन्। अनुहार चिथोरिदिइन्।

‘म त्यो देखेर खुब डराएँ। सबै आनीहरू रोइरहेका थिए, चिच्याइरहेका थिए। जे भइरहेको थियो, मैले विश्वासै गर्न सकिरहेकी थिइनँ,’ उनले भनिन्।

त्यसैबीच गंगाले चिच्याउँदै भनिन्, ‘यो भगवानको ठाउँ हैन। रण्डीखाना हो। बम्बैको कोठीभन्दा खत्तम ठाउँ हो।’

गंगाको कुराले शर्मिलाको मुटुमा हान्यो। ‘कति समयपछि ब्यूँझिएँजस्तै भएको थियो मलाई,’ शर्मिलाले भनिन्।

त्यही घटना भएको साँझ काठमाडौंबाट बमजनकी श्रीमती दिपशिखा आइन्। उनीसँग उनकी आमा पनि थिइन्। सिन्धुली आश्रमको भान्छामा आफ्नै आमाका अगाडि सबै आनीलाई भेला पारिन्। त्यहाँ दिपशिखाले बमजनका यौन दुर्व्यवहारबारे आनीहरूलाई बताइन्। गंगाले किन उनीहरूलाई सधैं सचेत पार्न खोजेकी थिइन् भनेर सम्झाइन्।

दिपशिखाले भनेको सम्झिँदै शर्मिलाले भनिन्, ‘गुरूले धेरै आनीहरूलाई दुर्व्यवहार गरेको छ। तपाईंहरू पनि गुरूको अगाडि एक्लै नजानू। राति एक्लै नहिँड्नू।’

हामीले भेटेकी तेस्री आनी सिर्जनाले पनि आश्रममा भएका घटना पुष्टि गरिन्।

गंगामाया र बमजनको झगडा परेको दिन सिर्जना काठमाडौंमा दिपशिखासँगै थिइन्।

यो श्रृंखलाका थप स्टोरीहरू पढ्नुहोस्-

श्रृंखलाको पहिलो स्टोरी— बमजनको आश्रममा तीन आनी बेपत्ता, एक अनुयायीको हत्या

श्रृंखलाको दोस्रो स्टोरी— बमजनको आश्रमबाट भागेका तीन आनीको कथा

श्रृंखलाको तेस्रो स्टोरी: गंगामायाको कथा— आफू बमजनबाट बलात्कृत भइन्, साना आनीहरूलाई भने जोगाइन्

श्रृंखलाको चौथो स्टोरी— बमजन कसरी बने मैत्रेय बुद्ध?

सिर्जना, विष्णु बल र रेवती आनी केही समयदेखि दिपशिखासँगै उनको छोराको हेरचाह गर्न काठमाडौंमै खटिएका थिए।

बमजनले दिपशिखालाई फोनमा गंगासँग झगडा परेको र उनले सबै पोल खोलिदिएको बताए। छिटो आउन भने।

‘त्यो बेला म त्यहीँ थिएँ। गुरूको फोन आएपछि गुरूआमा अत्तालिँदै सिन्धुली हिँड्नुभयो,’ सिर्जनाले भनिन्।

दिपशिखाले फोन राखेर उनीहरूसँग भनेकी थिइन्, ‘गंगालाई बेस्सरी पिटेजस्तो छ।’

दिपशिखाको कुरा सुनेपछि विष्णु आनी ‘निलीकाली’ भइन्। ‘गुरूले गंगालाई मलाईजस्तै गर्यो होला भनेर विष्णु आनीले खुब चिन्ता गर्नुभयो। रूनु पनि भयो,’ सिर्जनाले भनिन्।

बमजनले आफूलाई पहिले गरेको दुर्व्यवहारबारे पनि विष्णुले सिर्जनालाई भनिछन्।

‘मलाई पहिले पहिले साह्रै दुर्व्यवहार गर्यो गुरूले। नराम्रो काम गर्थ्यो। पिट्थ्यो। सियोले घोच्दिन्थ्यो,’ विष्णुलाई उद्धृत गर्दै सिर्जनाले भनिन्, ‘पछि त बानी पर्‍यो।’

दिपशिखा काठमाडौंबाट हिँडेको केही बेरमा आफूहरू पनि उनको छोरालाई लिएर सिन्धुली पुगेको उनले बताइन्। दिपशिखाले सबै आनीलाई राखेर बमजनको दुर्व्यवहारबारे बताउँदा सिर्जना त्यहीँ थिइन्।

त्यो साँझ दिपशिखाको कुरा सुनेपछि धेरै आनीको आकाश खस्यो।

‘त्यो सुनेपछि त मलाई एकदिन पनि त्यहाँ बस्न मन लागेन,’ शर्मिलाले भनिन्।

पर्सिपल्ट दिपशिखाले सबै आनीलाई सर्लाहीको पत्थरकोट पठाइन्। सिन्धुलीबाट पत्थरकोट पुग्दा शर्मिला अर्कै भइसकेकी थिइन्।

‘म पहिले कस्तो सिरियस थिएँ। खुब पढ्थेँ। ध्यान गर्थें। नपढ्ने, गफ गरेर बस्ने आनीहरू देखेर मलाई लाग्थ्यो- आनी भएर पनि किन यस्ता भएका होलान्?’ उनले भनिन्, ‘आनीहरू गीत गाउँथे, मलाई भने अचम्म लाग्थ्यो।’

पत्थरकोट फर्किँदा उनले बाटोमा गंगाका कुरा सम्झिइन्। नयाँ आनीहरूलाई बमजनको दुर्व्यवहारबाट बचाउन उनले कति धेरै प्रयास गरेकी थिइन् भन्ने जानिन्। गंगाले किन फर्केर घर जाऊ भन्दिरैछन् भन्ने बल्ल बुझिन्।

‘आफूले गंगालाई बेकारमा नराम्रो सोचेको भन्ने सम्झेर खुब पछुतो लाग्यो,’ उनले भनिन्।

पत्थरकोट पुगेपछि उनको मन बल्ल खुल्यो। ‘त्यहाँ पुगेपछि म कति कुरा गर्न, हाँस्न, गीत गाउन थालेँ,’ शर्मिलाले भनिन्, ‘म त त्यहाँ नाची नै दिएँ।’

उनको मन त्यतिमै अडिएन। उनले त्यहाँबाट निस्कने निधो गरिन्। आफ्नी दिदीलाई सम्पर्क गरिन्। दिदीले पहिल्यै शर्मिलालाई आश्रम नजा भनेर सम्झाएकी थिइन्।

उनकी दिदीले हामीसँग भनिन्, ‘मैले त्यो बेला यसलाई संसार तैंले सोचेजस्तो हुन्न भनेर कति सम्झाएँ। यो त साह्रै एकोहोरो भएकी थिई, सुन्दै सुनिन।’

दिदीलाई भने कहिल्यै बमजनको विश्वास भएन रे। भारतका यस्तै गुरूहरूको बद्मासी धेरै सुनेकाले पनि आफूलाई विश्वास नभएको उनले बताइन्।

‘त्यही भएर मैले आमालाई आश्रममा जाँदै गर्नू। बहिनीलाई भेटेर कुरा बुझ्दै गर्नू। त्यसै ढुक्क भएर नबस्नू भनेकी थिएँ,’ उनले भनिन्।

कताबाट हो, उनले एकदिन सुनिन्, बमजनको आश्रमभित्र झगडा हुन्छ। आमालाई तुरुन्तै बहिनी भेट्न पठाइन्। नोकियाको पुरानो मोबाइल फोन पनि लुकाएर पठाइन्। आमालाई भनिन्, ‘बहिनीलाई यो मोबाइल दिनू। केही परे तुरुन्तै खबर गर्नू भन्नू।’

शर्मिलासँग भएको त्यही मोबाइल काम आयो। उनले दिदीलाई फोन गरेर, अब आफूलाई आश्रममा एकछिन पनि बस्न मन नभएको बताइन्।

दिदीले भनिन्, ‘म गाडी व्यवस्था गरेर पठाउँछु। आश्रममा बस्न नचाहने सबै आनी भाग्नू।’

शर्मिलाले मन मिल्ने आनीहरूसँग भाग्ने सल्लाह गरिन्। पाँच जना भाग्न तयार भए। उनीहरूलाई मिति थाहा छैन, तर पत्थरकोट झरेको केही दिनमै हो। बिहीबारको दिन थियो।

प्रत्येक बिहीबार साँझ आश्रममा धर्मसभा हुन्थ्यो। नाम मात्रको धर्मसभा। खासमा त्यहाँ कचहरी बस्थ्यो। कसले के कुरा गर्यो, कसले के भन्यो, कसको कोसँग झगडा पर्यो। कहिलेकाहीँ सानोतिनो झगडै हुन्थ्यो। त्यहाँ बमजन गएर सबैलाई गाली गर्थे।

खाना खाएपछि साँझ ७ देखि ९ बजेसम्म धर्मसभा चल्थ्यो। त्यो दिन दिउँसै आनीहरूले भाग्ने तयारी सुरू गरे। के बहाना बनाउने, कसरी भाग्ने तय भयो।

सिर्जना र प्रनिकाको भात पकाउने पालो थियो। चुह्लो जुठो गर्ने, भाँडा सफा गर्ने भनेर उनीहरू भान्छामै बसे। भाग्न तयार एक जना आनी पेट दुखेको बहाना बनाएर कोठामै बसिन्।

शर्मिला र कमली मात्र धर्मसभामा गए। भान्छामा बसेका आनीहरूले भाग्ने ठाउँसम्म सुटुक्क झोला ओसारे।

धर्मसभा चलिरहेको थियो। नौ बज्न १५ मिनटअघि शर्मिला र कमलीले एकअर्कालाई आँखा सन्काए।

पिसाब फेर्न जाने भन्दै दुवै हलबाहिर निस्किए। सास दबाएर भाग्न भेला हुने ठाउँमा आइपुगे। नौ बज्न पाँच मिनेटअघि सबै जना त्यहाँ पुगे। तर, उनीहरूलाई लिने गाडी आइपुगेन। उता धर्मसभा सकिन लागेको थियो। फसाद पर्यो।

त्यसपछि उनीहरू जंगल, झाडी हुँदै मकैबारीभित्र पसे। बर्खा थियो। बारी हिलैहिलो।

‘मकैबारीबाट भाग्दा कसैको चप्पल गाडियो। कसैको खुट्टा भासियो। कसैको लुगा च्यात्तियो। कसैको मोबाइल छुट्यो,’ शर्मिलाले भनिन्, ‘अहिले त्यो सम्झिँदा कथाजस्तै लाग्छ।’

करिब आधा घन्टा हिँडेपछि बल्ल उनीहरूले एउटा गाडी देखे। बाटो भए पनि त्यहाँ गाडी कम गुड्थे। त्यो आफैंलाई लिन आएको होला भनेर शर्मिला ढुक्क भइन्।

सडकमा निस्किएर उनीहरू गाडी चढे। गाडी तुफानझैं हुइँकियो।

उनीहरूको मुटु विस्तारै विस्तारै थामिन थाल्यो।

बमजनको आश्रमबाट भागेका तीन आनीको कथा अमित ढकाल र शोभा शर्मा

बम्जनको आश्रमबाट बेपत्ता भएका आनीहरू चुन्मो र डोल्मो।बम्जनको आश्रमबाट बेपत्ता भएका आनीहरू चुन्मो र डोल्मो।

करिब नौ वर्षअघिको कुरा हो।

सर्लाहीको बाग्मती नगरपालिकास्थित काजीराम टोल बस्ने सुम्नी वोट चरूवा चराएर साँझ घर फर्केकी थिइन्।

उनको परिवार ठूलो छ। श्रीमानले दुई जना विवाह गरेका छन्। दुवैतर्फ गरेर १० छोरा र ५ छोरी छन्। नाति-नातिना घरभरि।

त्यो साँझ उनी गाईवस्तु लिएर फर्कंदा घर चकमन्न थियो।

उनी अचम्म परिन्।

कान्छी छोरी रिताले एकजना ‘जगल्टे’ मानिस ल्याएर उपल्लो तलाको आफ्नो कोठामा राखेकी रहिछन्।

सबै जना चुपचाप थिए।

उनले छोरीलाई बोलाएर सोधिन्, ‘कहाँबाट, को मान्छे लिएर आइस्?’

सुम्नीको अनुहारमा थोरै रोष थियो। आमा रिसाएको देखेर छोरी रिता डराइनन्। आमालाई उल्टो सम्झाउँदै भनिन्, ‘आमा यही त हो नि बुद्ध। तिमीलाई थाहै छैन। कहाँ-कहाँको मान्छे उसको दर्शन गर्न आउँछ। हाम्रो घरमा त बुद्ध आफैं आएका छन्।’

सुम्नी छक्क परिन्। दुनियाँभर ‘बुद्ध’ भनेर प्रचार भइरहेका रामबहादुर बमजन आफ्नै घरमा आएर बसेको रहेछ।

सर्लाहीनजिकै बारा जिल्लाको गढीमाईमा मेला लाग्ने वर्ष थियो त्यो- २०६६ साल। गढीमाई मेलामा हजारौं पशुको बलि दिने प्रथा थियो। बमजनले घोषणा गरेका थिए, ‘म यसपालिदेखि नै बलिप्रथा रोक्छु।’

चेलाहरूले सोधे, ‘गुरू, कसरी?’

बलिप्रथामा विश्वास गर्नेहरू बलि जारी राख्न कटिबद्ध थिए। झडप होला र त्यसमा गुरूलाई केही भइदेला भन्ने चेलाहरूलाई चिन्ता थियो।

‘लिटिल बुद्ध’ भनिने बमजनले चेलाहरूलाई सम्झाए, ‘आध्यात्मिक शक्ति प्रयोग गरेर बलि रोक्छु। पीर नगर्नू।’

गढीमाई मेला नजिकियो। सबैलाई कौतूहल थियो। केही चिन्तित पनि।

बमजन गढीमाई मेला सुरु हुनु एक दिनअघि आश्रमबाट हराए। उनी त्यो बेला कहाँ गए अहिलेसम्म धेरैलाई थाहा छैन।

उनी भागेर रितासँगै उनको घर पुगेका थिए।

छोरीले बमजनलाई चिनाएपछि सुम्नी पनि परिवारका अरू सदस्यजस्तै चुप लागिन्।

वोट परिवारको आँगन जोडिएका दुइटा घर छन्। एउटा घरको माथिल्लो तलामा बमजन रितासँगै बसे। उनी दिनभर कतै निस्कन्थेनन्। साँझ परेपछि कहिलेकाहीँ पछाडि खेतमा घुम्न जान्थे।

महिनौं खाना नखाई तपस्या बसेको भनेर बमजनको चर्चा थियो। सुम्नीको घरमा भने उनी सामान्य मानिसले झैं दुई छाक खाना खान्थे। रिताले माथि कोठामै भात लैजान्थिन्। दुवै जना कोठामै खान्थे।

रिताकी दिदी बेली माझीलाई भने विवाह नभएकी बहिनीसँग बमजन कोठामा बसेको, सुतेको ठीक लागेन।

उनले एकदिन बमजनलाई सोधिन्, ‘तपाईं तपस्वीजस्तो मान्छे, मेरी बहिनीसँग कोठामा किन बस्नुहुन्छ?’

बमजनले भने, ‘दिदी, म तपाईंको बहिनीलाई मन पराउँछु। हामीबीच प्रेम छ।’

‘हामीलाई त्यस्तो कुरा थाहा छैन। हाम्री बहिनी तपाईंसँग यसरी बसेको समाजले थाहा पायो भने इज्जत जान्छ,’ उनले जवाफ दिइन्।

‘तपाईं यस्तो कुरा बुझ्नुहुन्न दिदी,’ बमजन थोरै झोक्किए।

त्यो दिनदेखि बमजन बेलीसँग बोल्न छाडे।

खासमा उनी परिवारका मानिससँग खासै बोल्ने, बस्ने गर्थेनन्।

घरमा बस्दा सेतो धोती, ज्याकेट लगाउँथे। रिता भने कुर्ता सुरूवाल नै लगाउँथिन्। उनीहरू दिउँसो पटक्कै बाहिर निस्कन्थेनन्। त्यो बेला बमजन आएर एक महिनासम्म बोट परिवारकहाँ बस्दा पनि छिमेकी कसैले चाल पाएनन्।

लगभग एक महिना त्यहाँ बसेपछि बमजन र रिता गए। कहाँ गए परिवारलाई थाहा छैन।

तीन महिनापछि रिता फेरि घर आइन्, एक्लै। अनुहार थकित र निराश थियो। सधैं कुर्ता सुरूवाल लगाउने रिता त्यस बेला म्याक्सी लगाएर आएकी थिइन्। घरमा बस्दा पनि म्याक्सी नै लगाइन्।

उनले घरमा देखाएका व्यवहार असामान्य थिए।

आएको भोलिपल्टै उनले घरपछाडिको खेत खनिन्। त्यहाँ अघिल्लोपटक आउँदा उनले आफ्ना सारा फोटा गाडेकी रहिछन्। ती सबै खोतलेर निकालिन्। र, सबै फोटा जलाइदिइन्।

परिवारले रोक्न खोज्यो। मानिनन्।

दिदी र भाउजूले किन जलाएको भनेर सोधे। उनी केही बोलिनन्।

‘फोटा खनेर निकालेको र जलाएको देख्दा छक्क पर्‍यौं। रोक्दा पनि मानिनन्, रिसाइन्,’ रिताकी भाउजूले भनिन्।

पहिले कहिल्यै नभनेको कुरा, त्यो बेला रिताले आमा सुम्नीलाई भनिन्, ‘मलाई त्यहाँ कुट्छन्/पिट्छन् आमा।’

सुम्नीले हामीलाई सुनाइन्, ‘उसको ज्यानमा निलानिला डाम थिए। एकपटक त बुटले कुल्चेको रे। त्यसको निशानै थियो। शरीरभरि चिरेका घाउ थिए।’

बमजनका दाजुले पनि आफूलाई कुटेको रिताले आमासँग बताएकी रहिछन्।

‘मेरो भाइको सम्पत्ति खान आएको भनेर जेठाजुले पिट्यो, कान्छो भाइले छुट्यायो भन्थी,’ सुम्नीले सम्झिइन्।

त्यो बेला उनले रितालाई सोधेकी थिइन्, ‘तपस्वी र तेरो बिहे भएको हो?’

‘हैन,’ रिताले भनेकी थिइन्।

‘त्यसो भए किन ऊसँग बसेको, किन उसको दाजुलाई जेठाजु भनेको?’ सुम्नीले आफ्नी छोरीलाई सोधिन्।

‘छोरीले उत्तर नै दिइन,’ सुम्नीले हामीसँग भनिन्।

सुम्नीले त्यस बेला रितालाई ‘अब बमजनकहाँ नजा’ भनिन्।

‘त्यस्तो गर्छ भने किन जान्छस् भन्थेँ म,’ सुम्नीले भनिन्, ‘तर, चार-पाँच दिनमै बमजनको फोन आयो अनि गई।’

उनी गएको केही समयपछि एक साँझ बमजन आए।

घरका मानिसले सोधे, ‘रिता खै?’

बमजनले भने, ‘म पनि त्यही सोध्न आएको।’

घरपरिवारले बमजनसँग रिताको सोधिखोजी गरे।

उनकी माइली भाउजूले बमजनलाई भनिन्, ‘हाम्रो चेली जस्तो गएको थियो त्यस्तै ल्याइदिनू।’

सुम्नीका अनुसार, रिताका माइला दाजुले उनी कतै नभेटिए एफएममा सूचना दिने र प्रहरीकहाँ उजुरी गर्ने बताए।

रिताका दाजुको कुरा सुनेर बमजन झस्किए।

उनले भने, ‘एफएममा नभन्नू। प्रहरीमा पनि नजानू। मलाई अप्ठ्यारो पर्छ। तपाईंहरूलाई पनि अप्ठ्यारो पर्छ।’

उनले रितालाई आफैंले खोज्ने आश्वासन दिए।

त्यसपछि पनि बमजन रिताको घरमा दुईपटक आए।

यो श्रृंखलाका थप स्टोरीहरू पढ्नुहोस्-

पहिलो स्टोरी— बमजनको आश्रममा तीन आनी बेपत्ता, एक अनुयायीको हत्या

दोस्रो स्टोरी— बमजनको आश्रमबाट भागेका तीन आनीको कथा

तेस्रो स्टोरी: गंगामायाको कथा— आफू बमजनबाट बलात्कृत भइन्, साना आनीहरूलाई भने जोगाइन्

चौथो स्टोरी— बमजन कसरी बने मैत्रेय बुद्ध?

परिवारका अनुसार उनी साँझपख आउँथे। दुई-तीनवटा गाडीमा अरू मानिस पनि हुन्थे। गाडी घरपछाडि बाटोमा राख्थे र खेतैखेत हिँड्दै आउँथे।

सुम्नीका अनुसार, उनी लामो र ठूलो झोला बोकेर आउँथे। उही सेतो, ठूलो ज्याकेट र धोतीमा। लामो कपाल पालेका बमजनलाई देखेर उनलाई डर लाग्थ्यो रे।

‘त्यो ठूलो झोलामा बन्दुक, तरबार हुन्थ्यो कि जस्तो लाग्छ,’ परिवारका एक सदस्यले भने।

रिता हराएपछि बमजन केही महिना बिराएर तीनपटक आए। त्यसपछि आएनन्। पछिल्ला वर्षहरूमा उनी आएका छैनन्। रिताको खोजखबर पनि गरेका छैनन्।

रिताका बुबा भने छोरी खोज्न काठमाडौंसम्म पुगे। उनी अहिलेसम्म भेटिएकी छैनन्।

छोरीको बाटो हेर्दाहेर्दै बुबाको निधन भयो। आमा, दाजुभाउजू र दिदीहरूले अझै उनी आउने आश मार्न सकेका छैनन्।

‘छोरी हो, झझल्को आइरहन्छ। आइहाल्छ कि भन्यो, सन्तोक गर्‍यो,’ रिताकी आमा सुम्नीले भनिन्, ‘मनमा जतिखेरै ऊ बसिरहन्छ! हेर्न मन लाग्दा फोटो पनि छैन, सबै जलाएर गयो। म बाँचुञ्जेल एकपटक आइहाल्छ कि!’

रिता बेपत्ता भएको र बमजनले दिपशिखा डुमजनसँग विवाह गरेको समय लगभग एउटै हो।

बमजन हलखोरियाबाट भागेर रिताको घर गएर बसे। एक महिनापछि त्यहाँबाट रितालाई लिएर हिँडे। कहाँ गए थाहा छैन। त्यसको केही समयपछि मिरिकस्थित दिपशिखाको घरमा दुवैलाई भेटेको अनुयायीहरू बताउँछन्।

रिताजस्तै बमजन आश्रमबाट हराएकी अर्का दुई आनी हुन्- नुवाकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रुम्बा।

बमजनले सिन्धुपाल्चोक आश्रममा पुगेपछि उनीहरूको नाम फेरिदिए। कर्माको नाम चुन्मो र फूलमायाको नाम डोल्मो राखे।

चुन्मोको परिवार नुवाकोट र धादिङको सिमानामा पर्ने देउराली गाउँमा बस्छ। देउराली पुग्न त्रिशूली बजारबाट एक घन्टाभन्दा बढी कच्ची बाटो गाडीमा उकालो लाग्नुपर्छ।

सडक तल भिरालोमा पर्ने घरको आँगनमा बसेर चुन्मोकी आमा सुकुमाया तामाङले आफ्नी छोरीबारे भनिन्, ‘ऊ सानैदेखि धर्म भनेपछि मरिहत्ते गर्थ्यो। घरमै बसेर पनि धर्म हुन्छ भन्दा मानेन, सानैदेखि गुम्बा गएको हो।’

चुन्मो र डोल्मो बौद्ध धर्मको अर्कै गुम्बामा बस्दा साथी भएका हुन्। त्यहाँ २०६५ सालदेखि ३ वर्ष ३ महिना ३ दिन उनीहरू गुफा बसे। आनी हुन यो गुफा बस्नैपर्छ।

२०६८ सालमा गुफाबाट निस्केपछि उनीहरू बमजनको आश्रम बाराको हलखोरिया गए। त्यहाँ बस्न थालेपछि चुन्मो आमालाई भेट्न २०६९ सालमा एकपटक घर गइन्। डोल्मो पनि सँगै गएकी थिइन्।

चुन्मोले आफू बमजनको धर्ममा लागेको आमा र घरका अरू सदस्यलाई बताइन्।

‘बहिनीले यो गुरूको धेरै शक्ति छ भन्थ्यो। उसले टेकेको माटोमा पनि शक्ति हुन्छ भनेर ल्याएको थियो। उसको कपालको पनि दबाई हुन्छ भन्थ्यो,’ चुन्मोकी ठूलीदिदी गंगामायाले सम्झिइन्।

घर आउँदा उनले बमजनको फोटो, बमजनको फोटो भएका दुइटा क्यालेन्डर, एउटा सानो थान्का र बमजनबारे लेखिएको सानो पुस्तक लिएर आएकी थिइन्।

परिवारसँग विदा भएर आश्रम गएपछि उनी फर्किएर आइनन्।

‘ऊ जहाँ बसे पनि हरेक साल मलाई भेट्न आउथ्यो,’ आमा सुकुमायाले भनिन्, ‘त्यो बेला चुन्मो र डोल्मो एक रात बसेर गए। त्यसपछि अर्को साल त आउँछ होला भन्यो आउँदैन। यत्रो वर्ष बितिगयो।’

हरेक साल घर आउने चुन्मो आउँदै नआएपछि परिवारले सोधिखोजी गर्न थाले।

२०७३ सालमा रसुवाको धुन्चे जान हिँडेको बमजन टोली त्रिशूलीको वाटरभ्यू होटलमा बसेको थियो। चुन्मोका माइला भिनाजु सञ्जय लामा सालीको फोटो लिएर उनको सोधिखोजी गर्न त्रिशूली झरे। होटलमा बमजनसँग भेट गर्न खोजे। बमजनका मानिसले ‘गुरू सँग समय छैन, जो पायो त्यहीसँग गुरूले भेट्दैन’ भने।

सञ्जयले ती मानिसलाई चुन्मोको फोटो देखाएर उनका बारेमा सोधे। उनले चुन्मोलाई गुरूको आश्रममा कहिल्यै नदेखेको बताए।

‘यो केटी त गुरूको आश्रममा छैन,’ सञ्जयले ती व्यक्तिले भनेको सम्झिए, ‘उसले धेरै कुरै गर्न मानेन।’

सञ्जयले ती व्यक्तिको नाम सोधे। उसले आफ्नो नाम भन्न पनि मानेन। ‘तपाईंलाई नाम किन चाहियो’ भनेर उल्टै प्रतिप्रश्न गर्यो।

‘तपाईंको मान्छे हाम्रोमा आएकै छैन, बेकारमा किन समय खेर फाल्नुहुन्छ भन्यो,’ सञ्जयले सम्झे।

२०७३ चैतमा ललितपुर, चुनीखेलमा बमजनको बोधी श्रवण धर्मसंघले सातदिने पूजा लगाएको थियो। सुकुमाया आफ्नी ठूलीछोरी गंगामायालाई लिएर चुन्मोलाई खोज्न काठमाडौं आइन्। पूजामा जो, जो मानिस भेटिए, उनीहरूलाई सोधे।

एक जनाले चुन्मोलाई कहिल्यै नदेखेको बताए। अर्कोले भने, ‘यो त अहिंसावादीको सिआइडी हो। नराम्रो मान्छे हो। धेरै पहिल्यै हाम्रोबाट गइसक्यो।’

दुवैले आफ्नो नाम भने भन्न चाहेनन्।

‘मेरो बैनीले बमजनलाई त्यति धेरै मान्थ्यो। हामीलाई नै सम्झाउँथ्यो। बमजनकोमा जाउँ भनेर भाइलाई समेत फकाएको थियो। उनीहरू भने उल्टो सिआइडी भन्दो रैछ,’ चुन्मोकी ठूलीदिदी गंगामायाले भनिन्।

बमजनका कुनै पनि जिम्मेवार मान्छेले चुन्मोकी आमा र दिदीसँग राम्ररी कुरा गरेनन्। बमजनले भेट दिने कुरा त परै जाओस्।

निराश भएर सुकुमाया घर फर्किन्।

सञ्जयले केही साथीभाइ लिएर बमजनकै आश्रममा गएर कुरा गर्ने निधो गरे।

‘हामीले आश्रममै जान पैसा जोहो पनि गरेको हो। तर, परिवारको एक जना बेपत्ता छ, हाम्रो पनि ज्यानै जोखिममा पर्न सक्छ, नजाऔं भन्ने कुरा आयो। आँट्न सकेनौं,’ सञ्जयले भने।

चुन्मोले बमजनको आश्रमबाट पहिलोपटक लिएर आएका फोटो, किताब र क्यालेन्डर मात्र हुन्। सुकुमायालाई ती सबै देखेर रिस उठ्छ। कहिले सबै जलाइदिउँजस्तै लाग्छ।

‘रिसको झोंकमा फाल्दिन्छु, डढाइदिन्छु भन्ने सोच्छु। फेरि छोरी त्यहाँ गएको प्रमाण यही मात्र हो भनेर सम्हालेर राख्छु,’ सुकुमायाले भनिन्।

सुकुमायालाई छोरी जिउँदै छन् भन्ने आश छ पनि, छैन पनि।

‘जिउँदो भए त आजसम्म आइहाल्थ्यो कि भन्छु। मनमा पीर परिरहन्छ। खाएको पनि जिउमा लाग्दैन,’ उनले भनिन्, ‘फेरि उसको झझल्को आइरहन्छ। आइहाल्छ, बोलिहाल्छ जस्तो लाग्छ।’

चुन्मोसँगै बमजनको आश्रमबाट बेपत्ता भएकी अर्की आनी हुन्, डोल्मो।

डोल्मोको परिवार हेटौंडा उपमहानगरपालिकाको रंगशालामा बस्छ। बुबा वीरबहादुर रुम्बा र आमा सम्झनाले पनि आफ्नी छोरी नदेखेको पाँच वर्ष भयो। अन्तिमपटक २०७० सालमा डोल्मो र चुन्मो सँगै घर आएका थिए।

‘हलखोरिया हुँदा नजिकै पर्थ्यो, उनीहरू आइरहन्थे,’ आमा सम्झनाले भनिन्, ‘दुवै जना तीनपटक आएका थिए।’

डोल्मोले अन्तिमपटक २०७१ माघ महिनामा बमजनको सिन्धुपाल्चोकस्थित आश्रमबाट घरमा फोन गरेकी थिइन्।

डोल्मोका आमाबुबाले त्यस बेला छोरीले भनेको सम्झिए, ‘मलाई भेट्ने भए तुरून्तै आउनू। भोलि नै आउनू। तर, अबदेखि यहाँ फोन नगर्नू। नराम्रो मान्छ।’

‘खै, छोरीले किन त्यसो भन्यो। हामीलाई थाहा भएन। तर, छोरीलाई नराम्रो हुन्छ भन्ने त हामीले सम्झिँदै सम्झिएन,’ वीरबहादुरले भने।

आमाले थपिन्, ‘आनी बनेका छोरीको समाजमा खुब मान हुन्छ। आश्रममा उनीहरूको मान नहुने त हामीले सोच्नै सकेन।’

समय यत्तिकै बित्यो। २०७२ सालमा भुइँचालो गयो। सिन्धुपाल्चोक सबभन्दा बढी प्रभावित भयो। त्यहाँका खबर टिभीमा हेर्न थालेपछि बल्ल उनीहरू झल्याँस्स भए।

‘हामीले त बिर्सेजस्तो पो भएछ। असारमा सम्झ्यो अनि छोरी भेट्न हामी सिन्धुपाल्चोक पुग्यौं,’ डोल्मोकी आमाले भनिन्।

डोल्मो थिइनन्।

त्यहाँ भेटिएका एक जना बूढो मान्छेलाई उनीहरूले सोधे, ‘डोल्मो र चुन्मो खोई?’

उनले भने, ‘यहाँबाट त निस्केर गयो।’

ती मान्छेले दोहोर्‍याएर कुरा गरेनन्।

‘हामीलाई उनले भनेको कुरामा विश्वास भएन,’ डोल्मोका बुबाले भने।

त्यस दिन डोल्मोका आमाबुबा त्यही आश्रममा बसे। उनीहरूले बमजनलाई भने भेट्न पाएनन्। कोही जिम्मेवार मानिसले अघि सरेर उनीहरूलाई छोरीका बारेमा बताएनन्।

त्यहाँ घोडा स्याहार गर्ने अर्को मान्छेलाई पनि सोधे।

‘उनीहरू त यहाँ छैन। पछि आउँछ होला नि,’ ती मानिसले भने।

उनीहरू सिन्धुपाल्चोकबाट रित्तै फर्किए।

‘कतै फेरि गुफामा बसेको छ कि भन्ने पर्‍यो,’ आमा सम्झनाले भनिन्।

आनी बन्न गुफा बस्ने चेलीहरूलाई कसैले भेट्न पाउन्नन्। न उनीहरू नै बाहिर निस्किन्छन्।

दुई वर्षपछि पनि डोल्मोको कुनै खबर नआएपछि उनीहरू फेरि छोरी खोज्न थाले।

सिन्धुपाल्चोक आश्रममा पहिले पहिले छोरी छँदा फोन गर्ने गरेको नम्बरमा फोन गरे।

‘हामीलाई त त्यो मानिसले यो आश्रम हैन भन्यो,’ डोल्मोकी आमाले भनिन्, ‘हामीले त पहिले यही नम्बरमा फोन गरेर कुरा गर्थ्यौं भन्दा पनि उसले यो आश्रमको फोन हैन भन्यो।’

त्यसपछि छोरी खोज्न उनीहरू कहिले काठमाडौंको कपन गुम्बा गए, कहिले फर्पिङ। कहिले सिन्धुली पुगे, कहिले कहाँ। कतै भेटेनन्।

२०७३ सालमा ललितपुरको चुनीखेलमा बमजनको मैत्रीपूजा बेला डोल्मोकी आमा सम्झना र दिदी गए। त्यहाँ सोधिखोजी गर्दा पनि पत्तो लागेन।

‘पूजामा पनि भेटिएन। आफैं आउला कि भन्छु, आउँदैन। कसैले मारेर फाल्यो भन्छ, कसैले के भन्छ,’ सम्झनाले भनिन्।

डोल्मो र चुन्मोको परिवारलाई उनीहरू बमजनको आश्रममा गएको मात्रै थाहा छ। त्यहाँभित्र उनीहरूले के-कस्ता त्रासदी बेहोरे, बेपत्ता हुनुअघि के घटना भयो, उनीहरूलाई थाहा छैन।

हामीले त्यो बेला आश्रममा बसेका अरू आनी र चेलाहरूसँग छुट्टाछुट्टै भेटेर चुन्मो र डोल्मोका बारेमा कुरा गरेका छौं।

उनीहरूका अनुसार आश्रमबाट एक आनी हराएको निहुँमा डोल्मो र चुन्मोलाई एक साँझ बमजनले थङथिलो हुने गरी पिटे।

बमजनले त्यो साँझ दुवैलाई बोक्सीको आरोप लगाए। आफूले पिटिसकेपछि चेलाहरूलाई कठबाँस लौरो र तेलमा तताएको बाँसको लौरो ल्याउन भने। अनि त्यसैले उनीहरूलाई पिट्न लगाए।

कतिले लौराले हाने। कराँते सिकेका कतिपय चेलाले उफ्रिदैँ लात्ता हाने।

चुन्मो र डोल्मो चिच्याउन थाले। रुन-कराउन थाले। चुन्मोले त रगतै वान्ता गरिन्। नजिकैका गाउँका मानिसले उनीहरूको चिच्याहट सुन्छन् भनेर बमजनले केही चेलालाई लामाले बजाउने बाजा जोडतोडले बजाउन लगाए।

दुवैलाई पिटिराख्नू भन्ने आदेश दिएर बमजन तल घर गए। दर्जन केटाहरूको घेराबाट भागेर डोल्मो बमजन भए ठाउँ आइन्।

उनले ‘हामीले केही गरेको छैन गुरू’ भन्दै बिन्ती गरिन्।

‘घोडा पनि मारिस्, सुगा पनि मारिस्’ भन्दै बमजनले डोल्मोलाई गाली गरे। उनले ‘भगवान कोठामा लगेर तिमीहरूले को-कोसँग यौनसम्पर्क राख्यौ’ भनेर सोधे। ‘कतिवटा भूतप्रेतको मन्त्र बोकेको छ’ भनेर सोधे।

त्यसपछि उनीहरूलाई रातभरि कोठामा थुनेर राखियो।

भोलिपल्ट बिहानै उठ्दा डोल्मो र चुन्मो रहस्यमय ढंगले गायब थिए। उनीहरूलाई के भयो भन्ने त्यसबेला त्यहाँ भएका आनीहरूलाई थाहा छैन।

बमजनको आश्रमबाट निकालिएकी गंगामाया तामाङले आश्रममा रहँदा बमजनले डोल्मोमाथि यौन शोषण गरेको बताएकी छन्। आश्रमबाट निस्केर आएका एक आनी र दुई जना चेलाले गंगामायाको भनाइ पुष्टि गरेका छन्।

गंगामायाका अनुसार डोल्मोसँग बमजनले यौन दुराचार गर्दै गरेको भिडियो थियो।

‘बमजनले नराम्रो काम गर्दाको भिडियो डोल्मोले खिचेको रहेछ। त्यो भिडियो माग भनेर बमजनले मलाई भन्थ्यो,’ उनले भनिन्।

डोल्मोको परिवारलाई भने बमजनको आश्रममा आफ्नी छोरीले बेहोरेको त्यो यातनाबारे केही थाहा छैन।

डोल्मोका बुबा, आमा र भाइसँग कुरा सकेर हिँड्ने बेला हामीले ‘मकवानपुरबाट बमजनको आश्रममा गएका अरू कोही हराएको तपाईंहरूलाई थाहा छ?’ भनेर सोध्यौं।

डोल्मोका बुबा वीरबहादुरले जवाफ दिए, ‘छ नि, त्यहाँ तलको वाइवा आश्रम गएको, फर्किएको छैन।’

हाम्रा कान ठाडा भए।

‘वाइवा परिवारको घर तपाईंलाई थाहा छ?’ हामीले सोध्यौं।

उनले घर देखाइदिए।

हामी हेटौंडा उपमहानगरपालिका-१४ स्थित वनस्पति टोलमा गयौं। त्यहाँ बेपत्ता वाइवाका छोरा महेन्द्र वाइवासँग भेट भयो। उनका बुबाको नाम सञ्चलाल वाइवा रहेछ।

सञ्चलाल बमजनको आश्रम जान्छु भनेर २०७१ सालमा घरबाट हिँडेका रहेछन्। उनी केही वर्षअघि बमजनसँगै बाराको हलखोरियामा पनि बसेका थिए।

‘चैत १४ गते बुबाले फोन गरेर म सिन्धुपाल्चोक आश्रममा छु, १७ गते घर आइपुग्छु भन्नुभएको थियो,’ महेन्द्रले भने।

तर, आएनन्। छोराले १० दिन कुरे।

बुबाको अत्तोपत्तो नभएपछि उनले मकवानपुर जिल्ला प्रहरीमा गएर २०७१ चैत २७ गते उजुरी दिए।

उजुरी दिएर भोलिपल्ट उनी सिन्धुपाल्चोक हिँडे। २९ गते बमजनको आश्रम पुगे।

आश्रमका हर्ताकर्ताजस्ता देखिने एक व्यक्तिले उनलाई भने, ‘खै उहाँ त अस्ति नै निस्केर जानुभयो। झमझम पानी परेको थियो। कहाँ जानुभयो थाहा भएन।’

अरू कसैले थप कुरा नबताएपछि महेन्द्र घर फर्किए।

‘त्यहाँ सोध्दा कसैले थाहा छ भनेन,’ उनले हामीलाई भने।

उनले बमजनको सिन्धुली आश्रममा गएर पनि आफ्ना बुबाका बारेमा सोधेका थिए। त्यसयता पनि लामा हुन गएका र धर्ममा लागेका सबै आफन्तलाई सोधिरहन्छन्। प्रहरीकहाँ गएर आफ्नो उजुरीमा के कारबाही भयो भनेर पनि सोध्ने गर्छन्।

प्रहरीलाई दिएको उजुरीमा पनि केही कारबाही भएको छैन।

‘पुलिसले केही थाहा छैन, थाहा भयो भने भन्छु मात्र भन्छ,’ उनले भने।

‘कसैले कहीँ देखेँ भन्दैन,’ उनले भने, ‘हामीले त केही भनेको थिएन, बूढो खै के भो, के भो।’

उनका बुबासँगै बमजन आश्रम गएका आफ्नै एक गाउँलेलाई पनि उनले सोधेका रहेछन्।

‘जति सोधे पनि मलाई त थाहा छैन मात्र भन्थ्यो। एकदिन मैले धम्क्याएपछि बुबाको फोटो पठाइदियो,’ फोटो देखाउँदै उनले भने, ‘यही हो। नभए त हामीसँग बुबाको फोटो पनि थिएन।’

महेन्द्रसँग अनुमति मागेर हामीले सञ्चलालको फोटो खिच्यौं।

बमजनका एक पूर्व चेलाले सिन्धुपाल्चोक आश्रममा पिट्दा पिट्दै एक अनुयायीको ज्यान गएको धेरैअघि हामीलाई बताएका थिए। उनको घर मकवानपुर र थर वाइवाबाहेक ती चेलालाई अरू केही थाहा थिएन।

हामी भोलिपल्ट त्यो फोटो लिएर फेरि ती चेलाकहाँ पुग्यौं। फोटो देखाएर सोध्यौं, ‘यो मान्छेलाई चिन्नुहुन्छ?’

उनले भने, ‘मकवानपुरका वाइवा यिनै हुन्।’

ती चेलाका अनुसार सिन्धुपाल्चोक आश्रममा २०७१ चैत ८ देखि १५ गतेसम्म मैत्रीपूजा भएको थियो। १५ गते आश्रममा धेरै चेलाहरू बिरामी परेका थिए। चेलाहरू त्यत्तिकै रुने, कराउने, चिच्याउने गर्न थालेका थिए।

बमजनले सञ्चलाल र उनीसँगै आएका उनका साथी इन्द्रमानलाई मन्त्र गरेर चेलाहरूलाई बिरामी पारेको आरोप लगाए। पूजा सकिएको दिन दुवैलाई बमजनले पिटे। त्यसपछि आफ्ना अरू चेलाहरूलाई पनि पिट्न लगाए।

छ, सात जना चेलाहरूले सञ्चलाल र इन्द्रमानलाई लठ्ठी, पाइप र लात्ताले पिटे।

प्रत्यक्षदर्शी ती चेलाले भने, ‘सबैले पिट्दा पिट्दै उसको त्यहीँ ज्यान गयो।’

फेसबुकबाट तपाईको प्रतिक्रिया