काठमाडौँ, नेपालले पहिलो पटक सगरमाथाको उचाइ नापेको छ । बुधबार बिहान ३ बजे सगरमाथा चुचुरोमा पुगेर नेपालको सर्वे टोलीले पहिलो पटक सगरमाथाको उचाइ नापेको हो ।
उक्त टोलीमा नापी अधिकृत खिमलाल गौतम, रविन कार्की र उनीहरुका गाइड नेपाल माउन्टेयरिङका प्रमुख छिरिङ जाङगु शेर्पा रहेका थिए ।
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज जोशीले उक्त टोलीले चुचुरोमा पुगेर सगरमाथाको नाप गरेको जानकारी दिएका छन् ।
चैत्र २७ गते सगरमाथाको उचाइ नाप्नको लागी काठमाडौंबाट हिँडेको यस टोली नेपालतर्फको दक्षिण मोहोडाबाट चुचुरोमा पुगेको र टोली आजै फर्कने जोशीले बताएका छन् ।
साथै सहसचिव जाशीले सगरमाथाको उचाइ कति भन्ने ५ महिनापछि मात्रै थाहा हुने बताएका छन् ।
यस अघि सगरमाथाको उचाइ मापन भारतीय नापी विभागले सन् १९५४ मा र अमेरिकी टोलीले सन् १९९९ मा गरेको थियो । उनीहरुले सगरमाथाको उचाइ क्रमश ८,८४८ मिटर र ८,८५० मिटर मापन गरेको थियो ।
दुई फरक टोलीको मापन भिन्ना भिन्नै पाइए पश्चात नेपाल सरकारको टोलीले आफैँ उचाइ नाप्ने भएको हो ।