गाईलाई खोले दिन गएकाबेला पहिराले गोठ बगाउँदा पुरिएर महिलाको मृत्यु

सिन्धुलीमा लगातारको अविरल वर्षाका कारण पहिराले गोठ बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

फिक्कल गाउँपालिका–१ झुल्केमा पहिराले गोठसहित बगाउँदा महिलाको पुरिएर मृत्यु भएको हो ।

गोठमा गाईलाई खोले दिन गएकाबेला ३५ वर्षीया हेमकुमारी सुनुवारको पहिराले बगाउँदा मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो ।

माथिबाट खसेको पहिराले गोठसहित बगाउँदा तीन गाई, दुई बाख्रासमेत मरेको उहाँले जानकारी दिनुभयो ।

वर्षाका कारण फिक्कलमा पर्ने मध्यपहाडी लोकमार्गका नवलपुर, बाजुरा, खाङसाङ खोला, सोखुखोला लगायतका स्थानमा राजमार्ग अवरुद्ध भएको उहाँको भनाइ छ ।

गएरातिदेखि अवरुद्ध भएको बिपी राजमार्ग अझै पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।

केही पहिरो पन्छाएर एकतर्फीका सवारीसाधन सञ्चालनमा ल्याए पनि पहिरो खसिरहेकाले अझै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया