काठमाडौँ, गत चैत्र १७ गतेको आँधीहुरीले क्षतविक्षत पारेको पर्सामा बुधबार फेरी ठुलै हावाहुरी चलेको छ । बुधबारको हुरीले पनि एक जनाको ज्यान लिएको छ भने निकै क्षति पनि पुर्याएको छ ।
बुधबारको हुरीले मृत्यु हुने पर्सा पकाहा मैनपुर गाउँपालिका १ धोरेकी १५ बर्षकी श्रुति सहनी रहेकी छिन् । हावाहुरीका कारण घर नजिकैको सिमलको रुखको हाँगा भाँचीदा घाइते भएकी सहनीलाई उपचारको लागी वीरगञ्ज हेल्थकेयरमा लगिएको थियो ।
थप उपचारको लागी नेशनल मेडिकल कलेज वीरगञ्ज लैजाने क्रममा राती नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अनन्तराम शर्माले जानकारी दिएका छन् ।
उक्त हावाहुरीले मोटरसाइकल ग्यारेज, खाजा घर लगायत घरका छानो उडाएको छ भने एक कुखुरा फर्म पनि भत्काएको छ । उक्त फर्ममा करिब ४ लाखको क्षति भएको प्रहरीले अनुमान लगाएको छ ।
हावाहुरीले पोखरीया बजार चौकमा ३ वटा बिजुलीको पोल ढाल्दा त्यहाँको विद्युत सेवा पनि अवरुद्ध भएको छ । हुरीले प्रहरी चौकीमा पनि निकै क्षति पुर्याएको छ । प्रहरी कार्यालयहरुका छानो उडाउनुका साथै कुनै त भवन नै पनि लडेको छ ।
चैत्रको हावाहुरीले क्षति पुर्याएर बल्ल नयाँ शुरुवात गर्न लागेकाहरुलाई पनि बुधबारको हुरीले फेरी क्षति पुर्याएको छ ।