काठमाडौँ, नेपाली कांग्रेससमर्थित नेविसंघका कार्यकर्ताले बेलबारीबाट प्रकाशित हुँदै आएको उज्यालो प्रदेश डटकम अनलाइनका रिपोर्टर निकेश बराललाई निर्घात कुटपिट गरेका छन् ।
शुक्रबार बिहान स्थानीय सुकुना बहुमुखी क्याम्पसको विवादलाई लिएर नेविसंघले सडकमा जुलुस प्रदर्शन गरेको थियो । उक्त जुलुसको तस्वीर खिच्दै गर्दा नेविसंघका क्षेत्रीय सभापति होमनाथ पोखरेलको टोली स्थानीय पत्रकार बरालमाथि जाई लागेका हुन् ।
पत्रकार बरालको टाउको र हातमा चोट लाग्नुका साथै स्मार्ट फोनमा समेत क्षति पुगेको छ । अन्य सञ्चारकर्मीले उद्धार गरेर उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्रमा लगेका छन् ।
पत्रकार हो भनेर चिनेपछि पोखरेलको निर्देशनमा ५/६ जना नेविसंघका कार्यकर्ताले आफूलाई कुटपिट गरेको निकेशको भनाई छ । गुण्डागर्दीमा उत्रिएका पोखरेलले आफूलाई नेविसंघको क्षेत्रीय सभापति भन्ने गरे पनि उनको कार्यकाल पूरा भइसकेको बुझिएको छ ।