नेपाल र जापान बीच श्रम समझदारी, नेपाली कामदारले पनि जापानी सरह सुबिधा पाउने यस्तो बन्यो नीति !

फाइल फोटो

काठमाडौँ,  नेपालले नेपाली कामदारहरुलाई रोजगारीका लागि जापान लैजान लबिङ गर्दै आएको थियो । लामो समयदेखि खाडी र मलेसियाको वैकल्पिक गन्तब्य खोजिरहेको नेपाली कामदारका लागि जापान सुरक्षित र राम्रो कमाइ गर्ने श्रम बजार हुने विश्वास राखेर केहि महिना देखि नै नेपाल र जापान बीच श्रमसम्बन्धी कुराकानी चलिरहेको थियो ।

सोही कुराकानीलाई निचोडमा पुर्याउँदै दुवै देशका अधिकारीहरु बीच ललितपुरमा एक सम्झौता हस्ताक्षर भएको छ । उक्त सम्झौतामा अब सरकारी संयन्त्र मार्फत् नै नेपाली कामदार जापान लगिने उल्लेख गरिएको छ । अब करिब दुई साता भित्र नै नेपाली कामदारहरूको छनोटको प्रक्रिया सुरु हुने बताइएको छ।

जापानले कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ सेवा, सवारीसाधन मर्मत र सम्भार, निर्माण उद्योगसहित १४ वटा क्षेत्रको लागी नेपाली कामदार लैजाने भएको छ ।

कामदारहरुलाई दुईवटा स्ट्याटसमा विभाजन गरिनेछ । पहिलो स्ट्याटस अन्तर्गत जापान जाने कामदारहरुलाई भाषाको आधारभूत ज्ञान र सिप मात्र भए पुग्नेछ र उनीहरु ५ बर्ष बस्न पाउनेछन् तर परिवार लैजान पाउनेछैनन् ।

त्यसैगरी दोश्रो स्ट्याटस अन्तर्गत कामदारहरुलाई भाषा सम्बन्धि आधारभूत ज्ञानको साथ साथै निश्चित काममा दक्षता पनि चाहिन्छ । उनीहरुले परिवारलाई पनि साथ लैजान पाउनेछन् र पटक पटक भिसा नवीकरण गर्न सक्नेछन् ।

जापानमा रोजगारीमा पठाउनका लागि मन्त्रालयभित्र एउटा छुट्टै संयन्त्र बनाइनेछ । नेपाली नागरिकहरू वैदेशिक रोजगारीमा जाँदा हुने ठगी नियन्त्रण गर्न श्रमिक आपूर्ति प्रक्रियामा तेस्रो पक्षलाई संलग्न नगराइने सहमति जापानी पक्षसँग भएको श्रम मंत्रालय अधिकारी बताउँछन् ।

श्रम मन्त्रालयका अधिकारीहरूका अनुसार जापानमा रोजगारीमा जान एनफोर भाषा परीक्षा उत्तीर्ण हुनु पर्नेछ । सरकार-सरकारबीचको सहमतिअन्तर्गत पठाइने हुँदा त्यसका प्रत्येक प्रक्रियाको नियम हुने र निश्चित प्रक्रिया तथा निश्चित सेवासर्त र सुविधा ग्यारेन्टी हुनेछ ।

समझदारीपत्रमा उल्लेख भएअनुसार जापानी कानुनबमोजिम नेपाली श्रमिकहरूले रोजगारीका सेवा सुविधा तथा शर्तहरूमा जापानी नागरिकसरह समान व्यवहार प्राप्त गर्ने व्यवस्था सुनिश्चित गरिएको छ ।कामदारहरुको पारिश्रमिक जापानी सरह या सो भन्दा बढी पनि हुने बताइएको  छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया