नेपाल प्रहरीका डीएसपी सिंहलाई ८ महिना कैद

सरकारी कागजात कीर्ते गरेर प्रहरी सेवामा प्रवेश गरेको आरोपमा दोषी ठहर भएका डीएसपी रमेशबहादुर सिंहलाई ८ महिना कैद र १५ हजार जरिवानाको फैसला सुनाइएको छ।

उमेर घटाएर नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा प्रहरी नायव उपरीक्षक रमेश सिंहलाई ८ महिना कैद सुनाएको छ।कीर्ते कागजातको कसुरमा उनलाई विशेष अदालतले यसअघि नै दोषी ठहर गरेको थियो। तर सजाय निर्धारण हुन बाँकी थियो।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले दोषी ठहर गरेको हो ।

२०५८ मंसिरमा प्रहरी निरीक्षकमा भर्ना हुन उनले आवेदन दिएका थिए। तर लोक सेवा आयोगले २०६१ सालमा मात्रै नतिजा सार्वजनिक गरेको थियो। आवेदन दिँदा उनी २५ वर्ष नाघिसकेको पाइएको विशेष अदालतले जनाएको छ।

सुरुमा सिंहले एसएलसीको चारित्रिक प्रमाण पत्र नै नक्कली बनाएका थिए। पछि त्यसैका आधारमा नागरिकताको प्रतिलिपि पनि लिएको खुलेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया