काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले मंगलबार सामाजिक सञ्जाल मार्फत आचार्यले यो हद सम्मका नालायक, गैरजिम्मेवार र राष्ट्र बिरोधी शासक दुनियॅामा कोही नभएको बताएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘आर्थिक वर्ष ०७८/०७९ मा हामीले विभिन्न देशबाट १९ खर्ब २० अर्ब अर्थात हाम्रो बजेटभन्दा बढीको सामान आयात गरेका रहेछौँ।
तीमध्ये भारतबाट मात्र १२ खर्बभन्दा बढीको सामान आयात गरिएको रहेछ। यसबाट भारतसँग मात्र हाम्रो व्यापार घाटा साढे १० खर्ब जतिको छ।’
देशको बजेटभन्दा बढी व्यापार घाटा र वैदेशिक ऋण भएको उल्लेख गरेका छन्। आन्तरिक खर्चको कुरा गर्दा बजेटको सबैजसो हिस्सा साधारण खर्चमै सकिने उनको भनाइ छ।
‘संघ र स्थानीय तहको भन्दा कुनै पनि नौलो कार्यक्षेत्र नभएको र कहीँ कतैबाट औचित्य सिद्ध गर्न नसकेको प्रदेशको खर्च मात्र वर्षेनि ३ खर्ब जतिको छ।
देशको हालत यस्तो छ तर, सरकार, संसद् र प्रतिपक्षको किल्लामा यी कुराको उच्चारणसम्म पनि हुँदैन । उनीहरूको ध्यान चुनावको मुखमा पछि आउने संसद्को समेत अधिकार कटौती हुने गरी विदेशीलाई नागरिकता बाँड्न केन्द्रित छ।
शायद यो हदसम्मका नालायक, गैरजिम्मेवार र राष्ट्रविरोधी शासक दुनियाँमा अब बाँकी छैनन् होला।’ उनले लेखेका छन् ।