पब्लिक आवाज /संवाददाता
भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्याप्रकरणको अनुसन्धानका लागि पक्राउ परेका विशाल चौधरी रिहा भएका छन् । उनले आफूलाई डरत्रास देखाएपछि आरोप स्वीकार गर्न लगाएको बताएका छन् । शुक्रबार रिहा भएपछि शनिबार महेन्द्रनगर पुगेका विशालले प्रहरीले मानसिक यातना दिएकै कारणले आफूले स्वीकार गरेको बताए ।
अनुसन्धानका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका कञ्चनपुरका १६ वर्षीय विशाल चौधरी शुक्रबार रिहा भएका हुन । हिजो रिहा भए पनि उनलाई आजमात्र परिवारको जिम्मा लगाएको छ ।
उनलाई हिजो काठमाडौं बटा जहाज मार्फत महेन्द्रनगर ल्याइएको हो ।विशालका बुबा वीरवहादुर चौधरीले विशाललाई जिम्मा लिएका हुन् उनले भने मेरो निर्दोश छोरालाई जबरजस्ती फसाउन खोजियो ,यतिका दिन हिरासतमा राखेर यातना दिइयो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले शनिबार प्रहरी कार्यालयको रोहबरमा बालबालिका खोजतलास केन्द्रले परिवारको जिम्मा लगाएको बताए ।
‘केन्द्रीय अनुसन्धान ब्यूरोले नै काठमाडौंमा राखेर अनुसन्धान गरिरहेको थियो’, उनले भने,‘अहिले अनुसन्धानपछि ब्यूरोले नै छोडेको हो।’
उनले अनुसन्धानमा प्रहरी सुक्ष्म रुपले नै लागिरहेको बताए। प्रहरीले विशाल चौधरी र हिरासतमै रहेका अर्का प्रदिप रावलको डीएनए परीक्षण समेत गरेको थियो।
डीएनएको रिपोर्ट नमिलेको यसअघि नै खबर बाहिरी सकेको छ। तर कञ्चनपुर प्रहरीले भने अहिलेसम्म रिपोर्ट आधिकारिक जिल्लासम्म नपुगेको जनाएको छ। प्रहरी स्रोतका अनुसार विशालको डीएनए नमिलेपछि उनलाई रिहा गरिएको हो।