पब्लिक आवाज /जगदिश गिरी
काठमाडौं – कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा संलग्न रहेको आशंकामा काठमाडौंबाट एक युवा पक्राउ परेका छन् । निर्मलाको शव फेला परेको दिन देखि कञ्चनपुरमा देखा नपरेका युवक काठमाडौंमा पक्राउ परेका हुन् । उनि लागू औषध सेवनकर्ता समेत रहेको प्रहरीले जनाएको छ ।
ती युवामाथि प्रहरीले सुक्ष्म तरिकाले अनुसन्धान अगाडी बढाएको थियो । घटना घटेको दिन देखि उनि काठमाण्डौं बस्दै आएकोमा परिवारका सदस्यले उनी भारत गएको बताएका थिए । प्रहरीले भारतमा समेत उनको खोजी कार्य गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले हिजो साँझ ती युवालाई काठमाडौंमा पक्राउ गरेको हो ।
पब्लिक आवाजलाई प्राप्त जानकारीका अनुसार २२ वर्षीय ती युवाको डीएनए परीक्षणका लागि नमूना संकलन गरिसकेको छ ।प्रहरीले पक्राउ गरेका युवाको नाम गोप्य राखेको छ । पब्लिक आवाजले यस बारे कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायत संग कुरागर्दा उनले आफुलाई यस बारे कुनै पनि जानकारी नभएको बताए । उनले भने “ हामी दैनिक रुपमा शंकास्पद धेरैलाई बोलाएर अनुसन्धान गछौं , शकांलागे बोलाएर सोधपुछ गछौं तर काठमाण्डौं बाट पक्राउ परेको युवाबारे मलाई जनकारी छैन्” ।