काठमाडौँ, गएराति पूर्वीनवलपरासीमा आएको असिना पानी सहितको हावा हुरीले ३ सय भन्दा बढी घरमा क्षति पुर्याएको छ । देवचुली नगरपालिकामा हुरीको बढी असर परेको छ ।
सोमबार राति असिना पानी संगै आएको हावाहुरीबाट मानवीय क्षति नभए पनि घरहरुमा क्षति पुगेको देवचुली नगरपालिकाकी उपप्रमुख पार्वती तिवारीले जानकारी दिएकी छिन् ।
उनका अनुसार नगरपालिकाका केहि घरहरु त बस्ने नमिल्ने गरी भत्किएका छन् । हुरीले पुर्याएको क्षतिको यकिन तथ्याङ्क आइनसकेको प्रहरीले जनाएको छ ।
ठाउँ ठाउँमा बिजुलीको पोल र रुखहरु ढलेका छन् जस कारण विद्युत तथा सवारी आवागमन प्रभावित भएको छ । हुरीले देवचुली आधारभूत विद्यालय र भीमसेन माविलगायत केही विद्यालयको छानो पनि हावाले उडाई दिएको जानकारी आएको छ ।
देवचुली नगरपालिकाको ६, ७, ८, ९, ११, १२ र १४ वडामा हुरीको असर परेको भएता पनि वडा नं। ७ मा यसको सबै भन्दा बढी असर देखिएको छ ।
हुरीसँगै आएको असिना पानीले किसानका तरकारीलगायतका बालीमा पनि निकै क्षति पुर्याएको छ ।