ध्वनि प्रदूषण गराउने चालक कारवाहीमा

काठमाडौँ, २५ असोज | महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाई ध्वनि प्रदूषण गराउने चालकलाई कारबाही थालेको छ । चाडबाडलाई लक्ष्य गरेर अवाञ्छित गतिविधिविरुद्ध सक्रिय रहेको ट्राफिक प्रहरीले आज मात्रै चर्को आवाज बनाएर मोटरसाइकल चलाउने २० चालकलाई कारवाही गरेको हो ।

महाशाखाले शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने तथा स्वरुप परिवर्तन, लापरबाही तथा जिकज्याक रुपमा चलाउने कार्य कानून विपरीत भएकाले त्यसविरुद्ध अभियान थालेको छ । महाशाखाका प्रमुख भीमप्रसाद ढकालले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनाका साथै सर्वसाधारणमालाई समेत असर पुग्ने बताउनुभयो । जथाभावी रुपमा साइलेन्सरलाई परिवर्तन गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा कडाइ गरिएको प्रहरी वरिष्ठ उपरीक्षकले ढकालले जानकारी दिनुभयो ।

त्यस्ता मोटरसाइकल निकै तीव्र गतिमा कुदाइने गरेको पाइन्छ । महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवका अनुसार चालु आर्थिक वर्षमा मात्रै यसअघि ३४ मोटरसाइकल चालकलाई कारबाही गरिसकिएको छ । त्यसरी समातिएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवानास्वरुप रु एक हजारदेखि रु १५ हजारसम्म जरिवाना गराइएको छ । यस्ता किसिमका मोटरसाइकल कतै कुदेको देखेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा जानकारी गराइदिनसमेत प्रहरीले अनुरोध गरेको छ । महाशाखाले यातायात क्षेत्रको ठगी नियन्त्रणमा समेत विशेष टोली परिचालन गरिएको जनाएको छ । सादा पोशाकमा प्रहरी परिचालन गरी यस्ता गतिविधि नियन्त्रण अभियान शुरु भएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया