काठमाडौँ, सरकार र सी. के. राउत बीचको ११ बुँदे सहमति, त्यसमा प्रयोग भएको शब्दसंगको खेल अनि सी. के. राउतको नथामिएको गतिविधिबारे सबै खालका विद्वानहरुले आ-आफ्नै धारणा राखेका छन् । यस्तै बीच नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पनि आफ्नो धारणा बताएका छन् ।
सोमबार सप्तरी, राजविराज विमानस्थलमा पत्रकारसँगको कुराकानीमा जनकपुरमा गरिएका गतिविधिहरुले सहमति प्रति नै आशंका उब्जाएको बताएका छन् ।
उनि भन्छन्, ‘स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई सहमतिमा ल्याएर नेपालको राष्ट्रिय अखण्डतालाई स्वीकार गर्न र यही संविधान अन्तर्गत रहेर संशोधन गरी समस्या समाधान गर्न लगाइएको हो भने ठीक छ तर सहमतिपछि जनकपुरमा राउतको संगठनले गरेको गतिविधिले शंका गर्ने ठाउँ प्रशस्तै दिएको छ ।’
उक्त सहमतिको दोश्रो बुँदामा उल्लेख भएको ‘जनअभिमतमा आधारित लोकतान्त्रिक प्रक्रिया’ भन्ने शब्दावलीलाई सरकार र गठबन्धन दुवैले आ-आफ्नो खालको व्याख्या गरेको हुँदा सरकारले यसलाई प्रस्ट पार्नु पर्ने भट्टराईले बताए । उनले भने, ‘लोकतन्त्र भनिसकेपछि जनअभिमतमा आधारित भन्नैपर्दैन । बरफ त चिसो हुन्छ, बरफलाई चिसो र तातो भनेर हुन्छ ? लोकतन्त्र पनि जनमतमै आधारित कुरा हो नि ।’
सरकारले सिके राउतसँग हतारमा सहमति गरेर उक्त सहमतिको दुबै पक्षले आआफ्नै ब्याख्या गर्नुले नयाँ द्वन्द्वको सिर्जना गर्न सक्ने उनको भनाई छ ।