काठमाडौँ, महानगरीय प्रहरी प्रभाग थानकोटले उदयपुर र नेपालगंजबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बसबाट अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
शनिबार बिहान बस जाँच गर्दै गर्दा उदयपुरबाट काठमाडौँ आउँदै गरेको ना५ख ११९८ नम्बरको बस र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख २७७६ नम्बरकोबाट दुईलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सुनसरीका विकास साह र बाँकेका सन्तोष यादव रहेका थिए । झोलामा लुकाएर लागुऔषध काठमाडौँ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताएका छन् ।
पक्राउ परेकाहरुबाट प्रहरीले डाइजेपाम १५० एम्पुल, फेनार्गन १५० एम्पुल र नुर्फिन १५० एम्पुल तथा यादवबाट नाइट्राभेट ३६ ट्याब्लेट र स्पास्मो १९ ट्याब्लेट बरामद गरेको छ ।
महानगरीय प्रहरीवृत्त थानकोटले पक्राउ परेका दुईलाई लागुऔषध ऐन २०३३ अन्तर्गत म्याद थप गरी मुद्दा चलाउन पठाएको जनाएको छ ।
(रासस)