काठमाडौँ, २३ असोज । सरकारले डा. गोविन्द केसी पक्षसँग बिहीबार तीन चरणमा वार्ता गरेको छ। पहिलो दिन सहमति नभएपछि आन्तरिक छलफल गरी पुनः शुक्रबार वार्ता गर्ने गरी छुटेको वार्ता टोलीका सदस्यहरूले बताएका छन्।
२६ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य कमजोर हुँदै गए पनि सरकारी टोलीका कारण वार्ता टुंगो नलागेको हो। ‘पहिलो चरणको वार्तामा बुँदागत रूपमा छलफल भएको छ’, डा. केसी पक्षको वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीले भने, ‘शुक्रबार हुने वार्ता निष्कर्षमा पुग्ने आशा लिएको छु।’
सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली डा. केसी पक्षले राखेका मागबारे माथिल्लो तहसँग छलफल गर्ने भन्दै वार्ता चलिरहेका बेला बाहिरिएका थिए। त्यसपछि डा. केसी पक्ष पनि बैठक स्थलबाट बाहिरिएको थियो। पहिलो चरणको वार्ता बिहीबार बिहान साढे १० बजे भएको थियो। तीन चरणमा भएको वार्ता बेलुका पौने ९ बजे बिनानिष्कर्ष टुंगिएको थियो। अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित छ ।