काठमाडौँ, पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा ट्युबवेल गाड्दा ग्यास निस्किएको छ । सिँचाइका लागि पानी निकाल्न पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको हो ।
स्थानीय बासिन्दा राजकुमार पन्थीका अनुसार स्थानीय ताराबहादुर कुमालको जग्गामा फलामको पाइप जमीनमुनि गाड्ने क्रमबाट ग्यास बाहिर निस्किरहेको छ ।
जमिन मुनि गाडेको पाइपबाट गन्ध आउन थाले पश्चात आगो बाली हेर्दा बल्न थालेपछि ग्यास निस्किएको अनुमान लगाइएको हो । पाल्पामा पहिलोपटक जमीनमुनिबाट ग्यास निस्किएर आगो बल्न लागेपछि त्यहाँ मानिसको भिँड लागेको छ ।
आगो बोलेको हेर्नका लागि आसपासका क्षेत्रबाट त्यहाँ पुगेका स्थानीय बासिन्दा रेखीराम रानाका अनुसार उक्त पाइप ढाकेर राखिएको छ र ढाकेको बस्तु हटाएर हेर्दा आगो निस्केको देख्न सकिन्छ ।
यस ग्यासलाई अध्ययन अनुसन्धान गरि प्रयोगमा ल्याइनुपर्ने स्थानीय बासिन्दा राजकुमार पन्थीले बताएका छन् ।