काठमाडौँ । टाउको दुखेमा सकेसम्म सहने र अत्याधिक पीडा भएमा मेडिकलबाट ‘पेन किलर’ किनेर खाने नेपालीको बानी छ । टाउको दुख्ने समस्यालाई सामान्य रुपमा लिने गरिन्छ । तर टाउको दुख्ने समस्यालाई समान्य रुपमा लिँदा त्यसले दिर्घकालिन रुपमा अन्य असर समेत गर्न सक्छ । त्यसैले टाउको दुख्नुलाई सामान्य रुपमा नलिन चिकित्सकहरुको सुझाव छ ।
टाउको दुख्ने समस्या विभिन्न कारणले उत्पन्न हुन्छ । स्नायु सम्बन्धि समस्या तथा अन्य रोगको कारण टाउको दुख्ने समस्या हुन्छ । टाउको दुख्ने विभिन्न कारण मध्ये माइग्रेन पनि एउटा प्रमुख कारण हो । टाउको दुख्ने समस्या लिएर अस्पतालमा आउँनेहरु मध्ये ३० प्रतिशत मानिसमा माइग्रेनको समस्या देखिने गरेका ग्राण्डी अस्पतालका न्यूरोलोजिस्ट डाक्टर विवेक रौनियार बताउँछन् ।
माइग्रेनका लक्षणहरु
- टाउकोको एकापट्टि भागमा अत्याधिक पीडा हुने गरी दुख्छ ।
- दुखाई औषत रुपमा चार घण्टादेखि ७ दिनसम्म हुन्छ ।
- दुःखाइसँगै वाक वाक लाग्ने, वान्ता हुने समस्या हुन्छ ।
- दुखेको समयमा चिडचिडापन हुने ।
- बोल्न मन नहुने ।
- बत्तिको उज्यालोमा बस्न नसक्ने ।
- केही कार्य गर्दा दुःखाई अझै बढ्ने ।
यस्ता कारणले आउछ माइग्रेनको समस्या
माइग्रनको लक्षण सबैमा एउटै हुँदैन । चिकित्सकका अनुसार माइग्रेनको दुखाइ हुने धेरै कारण हुने भएपनि प्रमुख कारणहरु यस्ता छन् ।
- चर्को घाममा जाँदा ।
- धेरै गर्मी धेरै जाडो मौसम हुँदा ।
- हेरै चर्को आवज तथा होहल्ला हुँदा ।
- धेरै काम गर्दा ।
- नराम्रो कुरा सुन्दा वा तनाव हुँदा ।
- दुःखी भएमा माइग्रेन हुन सक्छ ।
- निद्रा पुगेन वा धेरै सुत्दा पनि माइग्रेन हुन सक्छ ।
- कफि,चकलेट, मदिरा सेवनले पनि माइग्रेनको लक्षण आउँछ ।
- अजिनोमोटो हालिएको खानेकुरा ।
- खाना नखादा ।
- महिनावारी भएको समयमा आउँन सक्छ ।
- पफ्युम, पेट्रोल, डिजेलको गन्धले पनि माइग्रेन हुनसक्छ ।
यसरी हुन्छ उपचार
चिकित्सकहरुले माइग्रनेको उपचार दुई किसिमले गर्ने गरेका छन् । चिकित्सकका अनुसार माइग्रेनको एट्याक आउँन नदिने र अर्को माइग्रेनको एट्याक आइरहेको समयमा टाउको दुखाइलाई कम गर्ने दुई किसिमको उपचार हुन्छ ।
‘प्रपर एक्टिभ र एभर्टिभ टिटमेन्ट गरी दुई किसिमले माइग्रेनको उपचार हुन्छ । प्रपर एक्टिभ भनेको माइग्रेनको एट्याक आउँन नदिने हो । यस्तै एभर्टिभ टिटमेन्ट भनेको माइग्रेनको एट्याक भइरहेको अवस्थामा दुखाई कम गर्ने ।
यस्तै अर्को उपचार पद्धति एभर्टिभ टिटभेन्ट अर्थात माइग्रेनको दुखाई भइरहेको अवस्थामा दुखाई कम गर्ने उपचार हो । यसका लागि दुखाई कम गर्ने पेनकिलरहरुको प्रयोग गरिन्छ । तर यस्तो औषधि नियमित सेवन गर्दा ग्यास्ट्रिक,अल्सर, किड्नीमा समस्या हुने चिकित्सकको भनाई छ । कहिलेकाहीँ प्रयोग गरेपनि यस्ता औषधिहरु नियमित सेवन गर्न नहुने उनको भनाइ छ ।
माइग्रनेको दुःखाइ कम गर्ने र केही समयलाई नियन्त्रण गर्ने उपचार पद्धति भएपनि पूर्ण रुपमा निको बनाउने वैज्ञानिक कारण भने नभएको चिकित्सक बताउँछन् । स्वास्थ्य जीवनशैली अपनाउँदा माइग्रेनको एट्याक कम हुने उनीहरूकाे तर्क छ ।
स्राेतः विभिन्न एजेन्सी