काठमाडौँ, स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउत र सरकार बीच ११ बुँदे सहमति भए बारे त हामी सबै अवगत नै छौँ । हामी यस बारे पनि जानकार छौँ कि सहमतिसंगै राउतले त्यसै दिनबाट हरेक पृथकतावादी गतिविधिहरु त्याग्ने प्रतिवद्धता गरेका थिए र प्रधानमंत्रीले विश्वास दिलाएका थिए । तर, सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच सहमति भएको भोलिपल्ट नै राउतका कार्यकर्ताले आफ्ना पुरानै गतिविधि सञ्चालन गरिरहेको पाइएको छ ।
शुक्रबार मात्रै प्रधाममंत्रीले सी. के. राउतले अखण्ड नेपाल स्वीकार गरेको बारे घोसणा गरेका थिए । सहमतिको २ न. बुँदामा ‘हामी आफ्ना राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्ने मान्यतामा दृढ छौं । नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई–मधेस लगायत देशका कतिपय स्थानमा रहेका सन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौँ ।’ भनि सहमत्री हस्ताक्षर गरेका राउतका गतिविधिहरुमा पूर्णविराम भने लागेको पाईदैन ।
सहमति विपरित राउतका कार्यकर्ताले सहमति भएको भोलिपल्ट नै सिरहा लगायतका जिल्लामा स्वतन्त्र मधेसको झण्डासहित प्रदर्शन गर्दै आफ्नो जित भएको दाबीसहित नारावाजी गरेका छन् । राउत र सरकारबीच भएको सहमतिको भाषाको विषयलाई लिएर सत्तारुढ दलमै विवाद भइरहेका बेला राउतका कार्यकर्ताबाट भएको यस्ता गतिविधिलाई सर्वसाधारणले समेत प्रश्न गरेका छन् ।
सहमतिको ६ न. बुँदामा उल्लेख गरिएको छ,’स्वतन्त्र मधेस गठवन्धन तथा यसका नेता–कार्यकर्ताद्वारा यसअघि तयार पारिएका र पहिले प्रचारमा प्रयोग गरिएका किताव, पर्चा–पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाईन सामाग्री आदिलाई भविष्यमा कारवाहीको बिषय बनाईने छैन । त्यस्तै आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन ।’ भनिएको छ ।
तर, हस्ताक्षरको मसि सुक्न नपाउँदै राउत समर्थकका पुराना गतिविधि दोहोरिन थालेपछि अनेकन आशंका उब्जिएको छ । यस्ता सरकार र सहमति विरुद्धका क्रियाकलापहरुलाई सी. के. राउतको फेसबुकको अफिसियल पेज मार्फत सक्दो सेयर गरिएको पनि छ । प्रधानमंत्री ओली सी. के. राउतले अखण्ड नेपाल स्वीकार गरको कुरा बताउँदै छन् भने सी. के. राउत तथा उनका समर्थक स्वतन्त्र मधेसको जीतको दिपावली मनाउँदै छन् ।
सहमतिमा प्रयोग भएका शब्दावलीलाई लिएर सरकार र राउत आ-आफ्नै परिभाषामा खुसियाली मनाउँदै छन् । झुक्काउने सरकार या नबुझ्ने जनता ?, शब्द एक परिभाषा अनेक !