काठमाडौँ, झापामा प्रहरीले लागु औषध सहित छुट्टा छुट्टै स्थानबाट ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–३ बस्ने २९ वर्षीय दलबहादुर लिम्बु, मोरङ केराबारी गाउँपालिका–९ का २० वर्षीय रुबिन थापा र १८ वर्षीय अरुण लिम्बु रहेका छन् ।
प्रहरीले दल बहादुर लिम्बुलाई मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित भन्सार गेटबाट लागु औषध सहित पक्राउ गरेको हो । लिम्बुको साथबाट नाईट्रोजन चक्की–१० एम्पुल र स्पास्मोप्रोक्सिभन ट्याब्लेट–८० चक्की बरामद गरिएको छ । डिएसपी महेश थापाका अनुसार पक्राउ परेका लिम्बुलाई प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ ।
त्यसैगरी प्रहरीले रुबिन थापा र अरुण लिम्बुलाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३७ प ७९९१ नम्बरको मोटररसाईकल चेकजाँच गर्ने क्रममा स्थायी प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोलीले सिटमुनि लुकाएर राखेको खैरो हेरोइन बरामद गरेको हो ।
प्रहरी निरीक्षक ढुण्डीराज गिरीले उनीहरुलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान भइरहेको बताएका छन् ।