जंगी अड्‍डामा चिनियाँ रक्षामन्त्रीलाई नेपाली सेनाको सलामी

फोटो फाईल

काठमाडौ । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेपाल आएका छन् । एक दिने भ्रमणका लागि काठमाडौं आइपुगेका वेइलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

अहिले उनी नेपाली सेनाको मुख्यालय जंगी अड्डामा पुगेका छन् । जंगी अड्डामा उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्दैछन् । प्रधानसेनापति थापासँगको वार्तापछि चिनियाँ र नेपाली सेनाका प्रतिनिधिबीच जंगी अड्डामा छलफल हुनेछ । चिनियाँ विशिष्ट पाहुना २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौं आएका उनले सैनिक अधिकारीसँगै उच्च नेतृत्वसँग भेट गर्ने कार्यक्रम छ । उनको भ्रमण टोलीमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत छन् ।

जंगी अड्डामा उनले नेपाली सेनाले दिएको सलामी ग्रहण गरेका छन् । सेनापतिसँगको भेटपछि उनले रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्दैछन् । प्रधानमन्त्रीसँगको भेट सकेर वेइ राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटका लागि शीतल निवास पुग्नेछन् ।
चीनियाँ उच्च प्रतिनिधिको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

विमानस्थलमा पत्रकारसँग बोल्दै वेइले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री थापालगायत उच्च अधिकारीले स्वागतपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट पारे।

चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए । ‘भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड(१९ का कारण भ्रमणमा केही विलम्ब भयो’ उनले भने, ‘कोभिड(१९ का समयमा नै भएको आफ्नो भ्रमणको विशेष महत्व हुनेछ।’

रक्षामन्त्री वेइलाई गृहमन्त्री थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायतले स्वागत गरेका थिए । नेपाली सेनाद्वारा जङ्गी अड्डामा दिइएको सलामी ग्रहण गर्दै चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे । (रासस)

फेसबुकबाट तपाईको प्रतिक्रिया