चिन र भारतको तुलनाः भ्रम र यथार्थ

  • लेखक: चक्र प्रसाद ढुंगाना

चिन र भारतको तुलनाः भ्रम र यथार्थ ,
विगत दुई दशक भन्दा बढी अवधि सम्म भारत र चिनको आर्थिक वृद्धिदर दु्रतगतिमा भई रहेको छ । उसरी एसियाका दुई ठुला बाघहरुको आर्थिक क्षमतामा निरन्तर वढोत्तरी भई रहँदा विपरित राजनितिक प्रणाली र सभ्यतामा रहेका यि देशहरुको विचमा तुलना गर्ने गरिएको पाईन्छ । एसियन टाईगरको उदय र चिन तथा भारतको निरन्तर आर्थिक वृद्धिका कारणले एक्काईसौ शताव्दीलाई एसियाको शताव्दीका रुपमा समेत लिनु पर्ने स्थितिको आँकलन गरिएको पाईन्छ । नेपाल यि दुई भिमकाय सभ्यता र अर्थप्रणालीका विचमा रहेको हुँदा यिनीहरुको आर्थिक विकासमा हमेशा फाईदा र वेफाईदा हेर्ने गरिएको पाईन्छ । भु राजनितिक जटिलताका विचमा अपेक्षित आर्थिक विकास गर्नका लागि नेपालमा दुवै देशको महत्वलाई न्युन आँकलन गर्न सकिदैन । हालका दिनहरुमा पश्चिमा जगत र नेपालमा पनि भारत र चिनकोविचमा प्रतिस्पर्धा चलिरहेको भन्ने व्यापक समाचारहरु प्रकाशन गर्ने गरिएको तथा आम जनताका विचमा पनि यि दुई देशहरु समान स्तरका प्रतिस्पर्धि रहेको भन्ने बुझाई रहेको छ । यहि बुझाईलाई तथ्यका आधारमा केलाउने प्रयास गएिको छ ।

२०१७।१८ मा भारतको आर्थिक वृद्धि दर. ७ प्रतिशत रह्यो भने सो अवधिमा चिनको वृद्धि दर ६.६ प्रतिशत रह्यो । पश्चिमा जगतका वि.वि.सि.तथा सि.एन.एन. जस्ता संचार माध्यमहरुले उक्त तथ्यांकका आधारमा भारतको आर्थिक वृद्धि शानदार रहेको र अव भारतले चिनलाई आर्थिक वृद्धिमा पछि पारेको भन्ने समाचारहरु व्यापक रुपमा प्रसारण गरेहो पाईयो । यसबाट के प्रश्न सिर्जना भएको छ भने के अव भारत चिनको समकालिन आर्थिक विकासको तहमा पुगेको हो ? यसको उत्तरका लागि हामिले केवल सामान्य क्याल्कुलेटरको प्रयोग गरे पुग्दछ । २०१८ मा चिनको कुल ग्राहस्थ उत्पादन अर्थात कुल अर्थतन्त्रको आकार १३.२५ ट्र्रिलियन अमेरिकन डलर रह्यो । भने उक्त अवधिमा भारतको अर्थतन्त्रको आकार २.७ ट्र्रिलियन अमेरिकन डलर रह्यो । हालको स्थितिमा भारतको अर्थतन्त्र भन्दा चिनको अर्थतन्त्र करिव ४.९ गुणा अधिक रहेको छ । भारतको सो अवधिको प्रतिव्यक्ति आय १,९७७ अमेरिकन डलर रहेको छ भने सो अवधिमा चिनको प्रतिव्यक्ति आय १०,२०० अमेरिकन डलर रहेको छ । प्रतिव्यक्ति आयको आधारमा भारत भन्दा चिन ५ गुणा भन्दा अधिक सामथ्र्यबान देखिएको छ ।हालको अवस्थामा चिनिया जनताको प्रतिव्यक्ति आय प्रतिवर्ष औषतमा ६४२ अमेरिकन डलरको दरमा वृद्धि भई रहेको छ भने भारतको केवल १४५ अमेरिकन डलर प्रतिवर्षको दरमा वढेको सामान्य अंकगणितले देखाउँदछ ।

यँहा निर विचार गर्नु पर्ने कुरा के छ भने बृद्धि र वृद्धि दर भनेको एउटै विषय होईन । हालको चिनियाँ जनताको प्रतिवर्षको आम्दानीमा वृद्धि भएको ६४२ अमेरिकन डलरमा भारतिय जनताको आय वृद्धि पुर्याउनका लागि भारतिय अर्थतन्त्रमा करिव ३३ प्रतिशत भन्दा बढीको वार्षिक वृद्धि आवश्यक पर्दछ । जसलाई सामान्य अर्थशास्त्रीय नियममा संभव मान्न सकिदैन ।हालको दरमा यदि चिनिया अर्थतन्त्रको वृद्धि र भारतिय अर्थतन्त्रको वृद्धि कायम रहने अनुमान गर्ने हो भने चिनको आर्थिक स्थितिमा पुग्नका लागि भारतलाई कम्तिमा १३६ वर्ष लाग्नेछ । प्रतिव्यक्ति आयको हिसावमा भारतियको औषत आय र चिनियाँको औषत आय बराबर हुनका लागि कम्तिमा १५० वर्ष लाग्ने छ । यदि भारतको जनसंख्याको वृद्धिदर यहि कायम रहेमा भारतले चिनलाई क्याच अप गर्ने अवधि अझै बढ्नेछ । सामान्य अंकगणितले देखाउने यस्तो अन्तरबाट के देखिन्छ भने हालको स्थितिमा चिन र भारत अर्थतन्त्रको आकार र जनताको औषत आम्दानीको आधारमा कहि कतै तुलनायोग्य छैन । आजको परिस्थितिमा असामान्य फेरवदल नभएमा १५० वर्ष पछि मात्र यिनिहरुको तुलना हुन सक्नेछ ।

१९८० लाई यदि आधार वर्ष मान्ने हो भने सो वर्षमा चिन र भारतको वास्तविक प्रतिव्यक्ति आय १०० अमेरिकन डलर थियो् । १९८० को दशक पछाडि चिनले  exponential दरमा आर्थिक वृद्धि हासिल गर्न सक्यो भने भारतले सो दरमा वृद्धि हासिल गर्न सकेन र यो अन्तर अत्यन्त तिव्रदरमा बढ्दै गयो र हालको अतुलनिय अवस्थामा आईपुग्यो ।
चिनको हालको जनसंख्या करिव १.४२ विलियन छ भने भारतको १.३५ विलियन रहेको छ । जनसंख्यामा तुलना गर्न सकिने स्थितिमा रहका यि दुइृ देशहरुको जनसंख्याको वृद्धि दर भने तुलनायोग्य छैन । चिनको जनसंख्या वृद्धिदर ०.३३ प्रतिशत रहेको छ भने भारतको १.११ प्रतिशत रहेको छ । यस अर्थमा निकट भविश्यमा भारत विश्वको सबै भन्दा बढी जनसंख्यायुक्त देश बन्ने पक्का छ । तर जनसंख्या बढे संगै प्रतिव्यक्ति आय भने सोही अनुपातमा घट्दछ । यसबाट भारतिय अर्थतन्त्रमा श्रोत साधनको व्यवस्थापनमा बढि दवाव पर्न जाने निश्चित छ । भुगोलको हिसावले चिन भारत भन्दा करिव ३ गुणा ठुलो रहेको छ ।

विश्वको कुल ग्राहस्थ उत्पादनमा चिनको अंश करिव १७ प्रतिशत रहेको छ भने भारतको अंश करिव ७ प्रतिशत रहेको छ । चिनको विदेशी मुद्राको संचिति ३.७ ट्रिलियन डलर रहेको छ भने भारतको ३९७ विलियन रहेको छ । यसरी विदेशी मुद्रा संचितिको अवस्था हेर्दा भारत चन्दा चिन करिव १० गुणा अत्याधिक विदेशी मुद्रा संचय गर्ने देशको रुपमा रहेको छ । शाक्षरता तर्फ विचार गर्दा भारतको भन्दा चिनको साक्षरता दर करिव २५ प्रतिशत उच्च रहेको छ ।पुर्वाधार विकास तर्फ हेर्ने हो भने चिन र भारतको तुलना गर्नु युक्ति संगत हुदैन । रेल्वे, मेट्र्रो, हाईवे, पोर्ट, एयरपोर्टहरुको विकास चिनमा तिव्र गतिमा भई रहेको छ भने भारत निक्कै पछि रहेको देखिन्छ । पुर्वाधार विकासले खासगरी उत्पादनको आधारशिला तयार गर्दछ । त्यसैले चिनियाँ गाँउहरु पनि हाल विश्वको उत्पादन केन्द्रका रुपमा विकसित भएका छन् ।

१९९० मा  Global Output by Value   मा चिनको अंश केवल ३ प्रतिशत थियो । हाल यो बढेर २५ प्रतिशत भएको छ । विश्वका प्राय सबै देशहरुमा चिनको व्यापार चलायमान छ । विश्वका हरेक १०० वस्तुमा कम्तिमा २५ वटा बस्तु चिनमा निर्मित भएको पाईन्छ । विश्वको सम्पुर्ण उत्पादन बजारमा ८० प्रतिशत एयर कन्डिसन, ७० प्रतिशत मोवाईल, ६० प्रतिशत जुत्ता, ७४ प्रतिशत सोलार प्यानल, ६० प्रतिशत सिमेन्ट, ५० प्रतिशत कोईला, ४५ प्रतिशत पानि जहाज, ५० प्रतिशत स्टिल, ५० प्रतिशत स्याउ चिन एक्लैले बनाउँदछ । २.२ ट्र्रिलियन अमेरिकन डलर बराबरको निर्यात गरेर चिन सम्पुर्ण विश्वको निर्यातक राष्ट्र्रको अग्रस्थानमा रहेको छ । नेपाल र भारतमा मेड ईन चाईना आज छ भोलि छैन भन्ने भन्ने भ्रम सिर्जना भएको छ । तर व्यापारमा चलाखिपन चिनको विशेषता हो । बजारको माग अनुसार सामानको उत्पादन गर्न सक्ने खुवि चिनमा रहेको देखिन्छ । विश्वको उच्च ब्राण्डका विलासिताका मुख्य सामानहरु हाल चिनमा उत्पादन भई रहेका छन् । चिनको अर्थतन्त्रलाई  Reverse  Engineeringको आरोप भारत लगाउने गर्दछ । तर चिनले यसलाई पश्चिमा जगतको बर्षौ सम्मको विकासलाई केहि समयमै क्याच अप गर्ने औजारका रुपमा लिएको देखिन्छ । यद्यपि भारत यस्तो प्रकारको टेक्नोलोजिमा निक्कै पछाडि रहेको छ ।

विगत ३० वर्षको अवधिमा चिनले गरिवीको रेखामुनी रहेका करिव ८० करोड जनसंख्यालाई गरिवीको रेखाबाट माथि उठाएको छ । यसलाई मानव ईतिहासमा एक चमत्कारका रुपमा लिईन्छ । High Mass Production, Reverse Engendering, Effective and skilled labor, stability,expertise आदि कारणले चिनले आर्थिक क्षेत्रमा अभुत पुर्व प्रगति हासिल गरेको छ ।त्यसो भए पश्चिमाहरु भारतिय अर्थतन्त्र र चिनियाँ अर्थतन्त्र विचमा किन समानस्तरको तुलना गरिरहेका छन् त ? आई.एम्.एफ. विश्व बैंक जस्ता पश्चिमा निर्देशित संस्थाहरु पनि माथि उल्लेखित विरोधाभाषपुर्ण तथ्यका खिलाफमा भारतिय अर्थव्यवस्था चिनिया अर्थव्यवस्था भन्दा Fabulous and Outsmart भएको दावि गरिरहेका छन् । यसको एउटै जवाफ हुन सक्दछ पश्चिमा शैलिको भारतिय लोकतन्त्र । लोकतान्त्रिक शासन, अग्रेजिभाषिको उल्लेख्य संख्या र सहजै पराधिन गराउन सकिने जनसंख्या र शासक आधुनिक भारतका विशेषताहरु हुन् ।

विगत ५० वर्षको विश्वको ईतिहास केलाउदा लोकतान्त्रिक शासन प्रणाली र आर्थिक विकासको सकारात्मक सह सम्बन्ध पश्चिमा जगतका देशहरु बाहेक अन्यत्र पाउन कठिन छ । पछिल्लो समयमा विकसित भएका एसियन टाईगरहरुको शासकिय अवस्था हेर्ने हो भने सहाभागितामुलक लोकतन्त्रको सफल प्रयोग भएको देखिदैन । त्यस्तै दक्षिण पुर्वि एसियन देशहरुको आर्थिक विकासले लोकतन्त्रको पक्षमा वकालत गरेको पाईदैन । रचनात्मक, स्थिर तर सर्वसत्ताबादी शासनमा आर्थिक वृद्धि तुलनात्मक रुपमा सफल देखिएको पाईेन्छ । चिन र भारत विचको आर्थिक वृद्धिको अन्तरमा पनि यहि पक्षले भुमिका खेलेको अनुमान गर्न सकिन्छ ।पश्चिमा जगतको भारतिय अर्थतन्त्रको पक्षमा गर्ने वकालतको अर्को कारण भनेको अंग्रेजि बोल्ने जनसंख्या अत्याधिक हुनु हो । पश्चिमा जगत भन्दा बाहिर सबै भन्दा बढी अंग्रजि भाषा बोलिने देश भारत हो । भारतमा अंग्रजि भाषाको विस्तार निरंन्तर रुपमा भई रहेको छ र भविश्यमा विश्वमा सर्वाधिक अंग्रजि बोलिने देशको रुपमा भारत देखा पर्न सक्ने संभावना पनि छ । तर पश्चिमाले अनुमान गरे जस्तो गरी स्थिति परिवर्तन भएको छैन । चिनले लाखौ मानिसहरुलाई अंग्रजि सिक्नका लागि पश्चिमा संसारमा पठाएको छ । विगत १५ वर्षमा चिनमा अंग्रेजि बोल्न सक्ने मानिसको जनसंख्या भारतको भन्दा अधिक रहेको छ । यृुरोपियन र अमेरिकन विश्व विद्यालयमा भारतिय भन्दा चिनियाँ विद्यार्थिको घुईचो लाग्ने गरेको छ । यसबाट के देखाउँदछ भने कोलोनियल लेगेसिको आधारमा भारतमा अंग्रजि बोल्ने मानिसको संख्या बढी भए पनि पछिल्लो अवस्थामा चिनियाँहरु पनि अंगे्रजि भाषामा भारतियसंग प्रतिस्पर्धामा रहेका छन् ।

ब्रेटनउड्स संस्थाहरुले भारतिय अर्थतन्त्रको भविश्य चिनको तुलनामा राम्रो रहेको अनुमान गर्नुको अर्को कारण हो जनसांख्यिकी । चिनिया जनसंख्या भारतिय जनसंख्याको तुलनामा अत्यधिक गतिले बृद्ध भई रहेको छ । भारतिय कुल जनसंख्याको ५० प्रतिशत भन्दा बढी संख्या २५ वर्ष भन्दा कम उमेरको रहेको छ । यसले भारत एक जवान देशका रुपमा रहेको देखाउँदछ । तर जनसंख्याको उमेरले मात्र विकासलाई निर्देशित गर्न सक्दैन । विकाससंग जनसंख्याको उमेर र परिमाण होईनको त्यसको गुणस्तरले प्रभाव पार्दछ । भारतिय शिक्षा प्रणालीले गुणस्तरिय जनसंख्याको उत्पादन गरि रहेको छैन । स्नातकोत्तर गरेका विद्यर्थिहरु पिउनको पदमा जागिर खानका लागि लामबद्ध भएका घटनाहरु बारम्बार सार्वजनिक हुने गरेका छन् । विश्वविद्यालयहरुको ग्लोवल रेंकमा उत्कृष्ट १०० को सुचिमा कुनै पनि भारतिय विश्वविद्यालयहरु पर्देैनन भने उक्त, सुचिमा चिनले अभुतपुर्व सफलता हासिल गरेको छ ।  Imperial College London, the University of Pennsylvania and Cornell University जस्ता पश्चिमा जगतका शानदार र अमुल्य विश्वविद्यालयहरुलाई चिनका  Tsinghua, Peking and Zhejiang University  ले पछाडि पारेका छन् । अद्यावधिक प्रविधि, उत्कृष्ट व्यवस्थापन, ग्लोवल पार्टनरशिप, शिकाईमा आधारित शिक्षा प्रणालीका कारण चिनले शैक्षिक प्रणालीमा अभुतपुर्व सफलता पाएको छ भने भारतको त्यस तर्फको गति निक्कै न्युन रहेको छ ।

चिनमा विद्युतिकरण करिव शत प्रतिशतको हाराहारीमा भई सकेको छ । उर्जाको प्राप्ती निरन्तर छ । विद्युतको प्रति किलोवाट युनिटमा केवल ३ रुपैया रहेको छ भने भारतमा लोड सेडिंग विकराल छ । विद्युतको पोल गाडिएको भए पनि विद्युत नदेखेको जनसंख्या असंख्य छ । विद्युतको लागत प्रति किलोवाट युनिटमा ९ रुपैया छ । उर्जाको लागतले बस्तु तथा सेवाको लागतमा असर गर्दछ । लागतले प्रतिस्पर्धात्मक क्षमतामा असर गर्दछ । त्यसैले लागतको हिसावमा तुलनात्मक रुपमा भारतिय अर्थतन्त्र चिनिया अर्थतन्त्रसंग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैन ।अनुसन्धान तथा विकास तर्फ चिनियाँ लगानी घातांक गतिमा बढि रहेको छ । २०१७ मा २५४ विलियन डलर लगानी भई अमेरिकासंगको ग्यापलाई निक्कै द्रुतगतिमा घटाई रहेको छ । भारतको यसमा लगानी ईजरायल र कोरिया जस्ता साना अर्थतन्त्र भएका देशहरुको भन्दा पनि न्युन रहेकोले चिनसंग तुलना गर्न सकिने स्थिति देखा पर्दैन । यस्तो लगानीले अर्थतन्त्रको भावि स्वरुपमा गुणात्मक वदलाव ल्याउने भएकाले भविश्यको अनुमान गर्न सघाउँदछ ।

भारतले चिनसंगको आर्थिक वृद्धिको दरलाई समात्न नसक्नुमा मुख्य कारण अत्याधिक तर्कहिन (irrational) र परम्परागत रुढिबादियुक्त समाज हो । परम्परागत भारतिय समाज तर्कबाट विमुख छ । तर्कका आधारमा भन्दा पनि भारतिय व्यवहार रुढिबादिका आधारमा चलेको छ । र यो समाजको परिवर्तन चाकत्किारिक रुपमा हुन सक्ने देखिदैन । त्यसैले पनि निकट भविश्यमा भारतिय र चिनियाँ अर्थतन्त्रको भेट हुने अवस्था छैन ।उपरोक्त तथ्यहरुका वापजुत लोकतान्त्रिक व्यवस्थाको जगमा भारतिय अर्थतन्त्र स्थायित्व उन्मुख भएमा यसले भविश्यमा राजनितिक संक्रमणको शिकार हुनु पर्ने अवस्था छैन । लोकतान्त्रिक संस्थाहरुको उचित विकास भई सकेको र लोकतान्त्रिक अभ्यास स्थापित भई सकेको हुँनाले भारतिय अर्थतन्त्रको भविश्य उज्जल देखिएको छ । अर्को तर्फ शासन प्रणालीमा भविश्यमा जुनसुकै बेला संक्रमण आउन सक्ने भएकाले चिनियाँ अर्थतन्त्र बढी संबेदनशिल देखिन्छ । त्यस्तै भारतिय जनसंख्या तुलनात्मक रुपमा जवान भएकोले त्यसलाई सहि प्रकारले प्रयोग गर्न सकिएमा त्यसले पनि अर्थतन्त्रलाई उर्जा दिनेछ ।

आर्थिक वृद्धिको सिद्धान्तले उच्च आर्थिक वृद्धि अनन्त काल सम्म चल्न सक्ने कुरालाई सर्वथा नकार्दछ । त्यसैले चिनियाँ अर्थतन्त्रको वृद्धिदरमा गिरावट आउने क्रम शुरु भएको छ । उता भारतिय अर्थतन्त्रको वृद्धि दर चमत्कारिक नभएको र चिनको तुलनामा पछि मात्र शुरु भएकाले केहि लामो अवधि सम्म कायम रहने छ । यसबाट दुवै देशहरु दुर भविश्यमा तुलनायोग्य त हुने नै छन् तर निकट भविश्यमा भने यिनिहरुको मिलन हुने संभावना भने छैन ।

लेखक (चक्र प्रसाद ढुंगाना)वेईजिंग विश्वविद्यालयबाट चिनिया अर्थतनत्रमा स्नातकोत्तर हुनुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया