काठमाडौँ, लम्जुङमा हिजो सोमबार साँझ चट्याङ लागेर एकको मृत्यु भएको छ । चट्याङका कारण मृत्यु हुने मध्यनेपाल नगरपालिका–३ सूर्यपाल लामाचौर गाउँका १८ वर्षीय सुनिल साँखी रहेका छन् ।
धानको बीउ राख्न सोमबार दिउँसो ४ बजे घरबाट करीब पाँच किलोमिटर टाढाको खेतमा गएका थिए । साँझ नै निस्केका उनि बेलुका सम्म घर नफर्के पश्चात घरपरिवार, आफन्तजन र स्थानीयवासीले खोजतलास गर्दा सोही दिन राती एक स्थानियको खेतमा मृत अवस्थामा भेटिए ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक यादव ढकालका अनुसार चट्याङ लागेर मृतक साँखीको कपाल, पेट, शरीरमाथिको कपडाको केही भाग डढेको थियो ।
शव परीक्षणका लागि छिमेकी जिल्ला तनहुँस्थित दमौली अस्पतालमा लगिएको उनले बताएका छन् । ११ कक्षाको परीक्षा दिएर बसेका मृतक साँखी आज शव परीक्षण हुने प्रहरीले जनाएको छ ।