धरान । सुनसरीको धरान उपमहानगरपालिकाबाट गोरु काटेको आरोपमा पक्राउ परेकाहरू रिहा भएपछि विजय उत्सव मनाएका छन् । गोरु काटेको अभियोगमा पक्राउ परेकाहरू मंगलबार रिहा भएपछि बुधबार धरानकाे मंगलबारेमा सामूहिक विजय उत्सव मनाएका हुन् ।
बुधबार आयाेजना गरेकाे वियज उत्सवमा उनीहरूले गाेरूकै मासु प्रयाेग गरेका छन् । उनीहरूले बीना रोकतोक गोरु काट्न र सँस्कार मान्न पाउनु पर्ने माग सहित भाेजकाे आयोजना गरेका थिए ।
आदिवासी जनजाति किरातीहरुले परम्परादेखि खानाको रुपमा र सांस्कृतिक पूजाआजा गर्दा पनि गाई गोरुको मासु प्रयोग आएका छन् भने सरकारले गोरु काट्नेलाई पक्राउ गर्दै आएका छन् । विजय उत्सवको अवसरमा सांस्कृतिक अधिकार संरक्षण समितिका संयोजक सुवास हुक्पा चोङबाङले धरानमा गोरु काट्ने क्रम नरोकिने बताए ।
गोरु काटेर खानु आफूहरुको सांस्कृतिक अधिकार नै भएकोले गोरु काट्ने काम नछोड्न उनले आग्रह समेत गरे । गाेरू काटेकै अभियाेगमा पक्राउ गर्नु मुलुकी अपराध संहिता ऐन २०७४ संविधानविपरीत भएकाे उनले बताए।
उनले देशभरिका फाइभस्टार होटलहरुमा गाई गोरुको मासु विक्री गर्न दिएर राज्यले कर असुलिरहेको तर आदिवासी जनजातिको परम्परादेखि गोरु गाई खाने संस्कृतिमाथि भने बन्देज लगाएको आरोप समेत लागए । संविधानले आफ्नो परम्परागत सस्कार, संस्कृति मान्न पाउने हक प्रदान गरेको भन्दै उनीहरुले गोरु काट्न पाउनु पर्ने माग गर्दै आएका छन् ।
चौतर्फी आलोचना, दबाब र आन्दोलनका कारण पाँच दिनपछि पक्राउ गरिएकाहरु हिरासतमुक्त गरिएकाे थियाे । धरान उपमहानगरपालिका–३ का राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, धरान–११ का अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ–३ का बहिस मियाँ, रिजमान मियाँ, शाहदत्र मनसुरी, आशिक मनसुरी र महमुदी मनसुरीलाई मंसिर २८ गाेरू काटेकाे अभियाेगमा पक्राउ गरेकाे थियाे ।