गृहमन्त्रीको पदमै रहँदा निष्पक्षता सम्भव छैन , गृहमन्त्रीले बाटो खोल्नुपर्छ : माओवादी

काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन सुनिश्चित गर्न गृहमन्त्री रमेश लेखकलाई मार्गप्रशस्त गर्न सुझाव दिएको छ।

राष्ट्रिय सभाको आकस्मिक समयमा बोल्दै माओवादी सांसद सुरेश आले मगरले गृहमन्त्री पदमै रहँदा मातहतका निकायहरूले स्वतन्त्र छानबिन गर्न नसक्ने दाबी गरे। “गृहमन्त्रीले बदमासी गर्नुभएको छैन भन्ने हाम्रो पनि विश्वास हो,” उनले भने, “तर व्यवहार र तथ्यले त्यसको पुष्टि गर्दैन। उहाँले आफू नैतिकवान् र इमानदार भएको प्रमाणित गर्न मार्ग खुला गर्नुपर्छ।”

उनले विगतमा विवादित रहिआएका कर्मचारीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनजस्तो संवेदनशील जिम्मेवारी किन दिइएको भनी समेत प्रश्न उठाए।

माओवादीले गम्भीर विषय बनेको यो प्रकरणमा निष्पक्ष छानबिनका लागि राजनीतिक जवाफदेहिताको अपेक्षा गरेको स्पष्ट पारेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया